रविको विषय दुखद हो, ठगी गर्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्छ: एमाले

काठमाण्डु टुडे २०८१ वैशाख ४ गते १३:२० मा प्रकाशित

काठमाण्डु, ४ वैशाख– एमालेले पनि उपप्रधान एवं गृहमन्त्री समेत रहेका रास्वपाका सभापति रवि लामिछाने सहकारीको रकम अपचलनमा मुछिनु दुखद भएको बताएका छन । एमाले प्रमुख सचेतक महेश बर्तौलाले सहकारीमा धेरै नागरिक ठगिएको भन्दै पीडितलाई न्याय र ठगीमा संलग्नलाई कारबाहीको दायरामा ल्याउनुपर्छ भन्ने एमालेको स्थायी मान्यता भएको बताएका छन ।

उनले भने, ‘सहकारीको रकम हिनामिना प्रकरणमा गृहमन्त्री रवि लामिछाने जोडिएर एकपछि अर्को विषयहरू आइरहेका छन् । यो दुखद कुरा हो, ‘सहकारीबाट ठगिएका पीडितले न्याय पाउनुपर्छ, बदमासी र ठगी गर्नेहरूलाई कारबाहीको दायरामा ल्याउनुपर्छ भन्ने नेकपा एमालेको स्थायी मान्यता हो ।’

बर्तौलाले सार्वजनिक पदमा रहेका व्यक्तिका सवालमा उठेका प्रश्नको जवाफ दिने पहिलो काम स्वयको भएको भन्दै ती विषयबारे अनुसन्धान प्रक्रिया प्रभावकारी बनाउनुपर्ने पनि बताएका छन । उनले भने, ‘आएका विषयहरूमा अनुसन्धान र अध्ययन प्रक्रियालाई प्रभावकारी ढङ्गबाट अगाडि बढाउनुपर्छ ।

अनुसन्धानको प्रक्रियालाई जुनसुकै पद प्रतिष्ठामा बसेकाहरू भए पनि प्रभावित गर्ने काम गर्नु हुँदैन’, बर्तौलाले भने, ‘जोडिएर आएका विषयहरूमा सम्बन्धित दलले पनि प्रस्ट पार्नुपर्छ ।’ उनले सार्वजनिक जिम्मेवारीको पदमा बसेपछि प्रश्नहरू स्वाभाविक रूपमा उठ्ने भए पनि ती प्रश्नको निराकरण गर्ने दायित्व सम्बन्धित व्यक्तिको बढी हुने पनि बताएका छन ।

‘त्यसैले यसलाई कानुनी हिसाबले न्याय निरूपणमा सहयोग गर्नुपर्ने पनि उत्तिकै जिम्मेवारी हुन्छ’, उनले यस विषयमा प्रमुख प्रतिपक्षले पनि जसरी विषय उठाइरहेको छ ।

यसका बारेमा एमालेले गम्भीरताका साथ नजिकबाट नियालिरहेको पनि बताए । ‘घटनामा दोषी देखिएका हकमा प्रकृतिका आधारमा सजायको भागीदार सबै हुनुपर्छ’, उनले भने, ‘हामी विश्वासको आधारमा सहयात्रामा छौ, हाम्रो सहयात्रा राजनीतिक प्रकृतिबाट हो ।

तर यो भित्र कानुनले वर्जित गरेका कुनै पनि घटना, दोष या आरोपहरू छन् भने हामी स्वीकार गर्न सक्दैनौँ । ग्रहण पनि गर्दैनौँ ।’ उनले गृहमन्त्री वा सरकारमा लामिछाने भएका कारण राजनीतिक ढाकछोप हुन नहुने उनको भनाइ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us