बर्दियामा २३ किलो चरेस जस्तो पदार्थसहित एक जना पक्राउ

काठमाण्डु टुडे २०८१ वैशाख ४ गते १३:०५ मा प्रकाशित

काठमाण्डु, ४ वैशाख–  प्रहरीले बर्दियाबाट करिब २३ किलो चरेस जस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको छ । आज बिहान करिब ४ बजेको समयमा बढैयाताल गाउँपालिका–२ सीमा क्षेत्रबाट सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट (बिओपी) फुटाहाले चेकिङका क्रममा शंकास्पद एक जनालाई पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ ।

चेकिङका क्रममा उनीसँग रहेका दुई वटा झोलाबाट प्लास्टिकले बेरेको ३९ वटा प्याकेटमा रहेको करिब २३ किलो लागुऔषध चरेस जस्तो देखिने पदार्थ बरामद गरीएको प्रहरीले जनाएको छ ।

उक्त समानसहित नेपालबाट भारतर्फ जान लाग्दा पक्राउ परेका व्यक्ति रुकुम पश्चिमको सानोभेरी गाउ पालिका–५ का ३४ वर्षीय बमबहादुर पुन रहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us