प्रधानमन्त्री प्रचण्ड र एकीकृत समाजवादीका नेता झलनाथ खनालबीच भेटवार्ता

काठमाण्डु टुडे २०८१ वैशाख ४ गते ११:१७ मा प्रकाशित

काठमाण्डु, ४ वैशाख– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री प्रचण्डलाई भेट्न नेता खनाल आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए । भेटमा समसामयिक राजनीतिक परिस्थितिमा छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।

उनीहरुबीच वैशाख १५ मा हुन लागेको उपनिर्वाचन, प्रदेश सरकार गठनका विषयमा छलफल केन्द्रित रहेको स्रोतले जानकारी दिएको छ । केन्द्रको सत्ता गठबन्धनमा सहभागी एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेश सरकार गठनमा नेपाली कांग्रेस र नाउपाको रेशम चौधरी पक्षको गठबन्धनमा सहभागी हुँदै नाउपाका लक्ष्मणकिशोर चौधरीलाई मुख्यमन्त्रीमा समर्थन गरेको छ ।

एमाले, माओवादीसहितको केन्द्रको सत्ता गठबन्धनका शीर्ष नेताहरुले एकीकृत समाजवादीलाई सुदूरपश्चिमको निर्णयबाट पछि हटाउने प्रयास जारी राखेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड र एकीकृत समाजवादीका नेता खनालबीच आजको भेटवार्ता पनि त्यसैमा केन्द्रित रहेको स्रोतले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us