एजेन्सी–यमनमा युद्धग्रस्त साऊदी अरबको लडाकू विमान दुर्घटना भएको छ । यमनको उत्तरी प्रान्त अल जाफमा दुर्घटना भएको हो ।
युद्धमा सहभागी राष्ट्रहरुको गठबन्धनका प्रवक्ताले साऊदीको टोर्नाडो लडाकू विमान दुर्घटनामा परेको पुष्टि गरेका छन। उक्त विमान यमनको सैन्य शिविरमा सहयोग लिएर गईरहेको बेला दुर्घटनामा परेको साऊदी अरबको सरकारी समाचार संस्था एसपीएले उल्लेख गरेको छ ।
यमनका हुथी विद्रोहीले भने शुक्रबार राति उक्त विमान आफूहरुले आक्रमण गरी खसालेको दाबी गरेका छन् । विद्रोही संगठनले उक्त विमानलाई क्षेप्यास्त्र आक्रमण गरी खसालेको दाबी गरेका हुन् । साऊदी अरबले भने दुर्घटनाग्रस्त क्षेत्रमा खोज र उद्धारको कार्य गरिरहेको जनाएको छ ।
साऊदी अरबले शनिबार अल जाफ प्रान्तमा गरेको हवाई आक्रमणमा कम्तिमा ३१ जना सर्वसाधारणको मृत्यु भएको संयुक्त राष्ट्र संघले जनाएको छ । सऊदी अरबले भने शनिबार खोज र उद्धार कार्य गरेको थियो । उसले सर्वसाधारणको मृत्यु भएको हुनसक्ने बताएको छ ।
यमनमा हुथी विद्रोही विरुद्ध साऊदी अरब सन् २०१५ देखि संघर्ष गर्दै आएको छ । अन्तर्राष्ट्रिय समुदायको समर्थन रहेको सरकारलाई हुथी विद्रोहीले बहिष्कार गरेपछि साऊदी अरबले हस्तक्षेप गरेको थियो ।