
एजेन्सी– भारतबाट रूस जाँदै गरेको रुसी जहाज अफगानिस्तानमा दुर्घटनामा परेको छ । भारतबाट उज्वेकिस्तान हुँदै मस्को जान लागेको जहाज दुर्घटनामा परेको रसियन नागरिक उड्डयन प्राधिकरणलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जानकारी दिएका छन ।
जहाजमा ६ जना यात्रु थिए र त्यो विमान चार्टर गरिएको रसियाली अधिकारीहरुले बताएका छन । त्यो जहाज अफगानिस्तानको बदाक्षन प्रान्तको पहाडी क्षेत्रमा दुर्घटना भएको अफगानिस्तानका समाचार संस्थाहरुले जानकारी दिएको छ ।
आइतबार राति भारतबाट उडेको जहाज अफगानिस्तानको आकाशबाट राडारसँग सम्पर्कविच्छेद भएको रुसका अधिकारीहरुले बताएका छन । अफगान प्रहरीले भने उक्त जहाज दुर्घटना भएको रिपोर्ट प्राप्त भएको भनेको समाचार संस्था रोयटर्सले जानकारी दिएको छ ।
अधिकारीहरुका अनुसार उक्त जहाज चार्टर गरिएको एयर एम्बुलेन्स हो । त्यसमा ६ जना सवार थिए । अफगानिस्तानका प्रान्तीय प्रहरी प्रवक्ताले आइतबार उत्तरी अफगानिस्तान प्रहरीलाई बदाक्षन प्रान्तमा एक विमान दुर्घटना भएको रिपोर्ट प्राप्त भएको जानकारी दिएको थियो ।
बदाक्षन प्रान्त सरकारका प्रवक्ता जबिहुल्लाह अमिरीका अनुसार दुर्घटनास्थलमा एक टोली पठाइएको छ । दुर्घटनास्थल प्रान्तीय राजधानी फैजाबादबाट २०० किलोमिटर टाढा विकट क्षेत्रमा पर्दछ ।