
काठमाण्डू, २९ जेठ– काठमाण्डूको कीर्तिपुरमा जारी एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको २४ औँ महाधिवेशन युवासंघमा जस्तै चुनावसम्म पुगेको छ । अध्यक्षमा डा. सुजन कडारियालाई सर्वसम्मत अध्यक्ष बनाउने एमाले नेतृत्वको चहानामा प्रकाश पौडेलले प्रश्न उठाउँदै मैदान नछाडेपछि बिहीबार मतदान हुँदैछ ।
बुधबार राति नै हुने भनिएको मतदान प्राविधिक कारण भनेर रोकिएको थियो । अब बिहीबार मतदान सुरु भएको थियो । अध्यक्षमा कडारियालाई जिताउन एमालेका शीर्ष नेताहरू खुलेर लागिरहेका बेला ३२ वर्षे उमेर हदका कारण किनारा लागेका नरेश रोकायाले बुधबार सामाजिक सञ्जालमा एउटा पोस्ट लेखे । ३२ वर्षे नलागेको भए अध्यक्ष हुने दौडमा रहेका रोकाया एमालेको निर्णयका कारण किनारा लागेपछि अहिले कडारियाको पक्षमा खुलेर लागेका छन् ।
तर, अनौठो चाहिँ के छ भने यो महाधिवेशन आयोजक कमिटीको महासचिवकै भूमिकामा उनी छन् । उनले बुधबार घोषित रुपमै कडारियाको प्यानललाई एमालेको आधिकारिक भनिदिए । रोकायाले कडारियालाई एमालेको आधिकारिक प्यानल भनेर भोट मागिरहँदा उनीमाथि अनेरास्वियुकै कयौँ कार्यकर्ताले प्रश्नको बर्षा गरिरहेका छन् ।
रोकायाले कडारिया प्यानललाई आधिकारिक र पौडेल प्यानललाई अनधिकृत बनाइदिएपछि एमालेका नेताहरूसमेत बोल्न बाध्य भएका छन् । एमालेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले रोकायाको उक्त पोस्टलाई गलत सावित गर्दै अनेरास्ववियुका प्रतिनिधिहरू आफैं नेता छान्न सक्षम रहेको बताएका छन् । रोकायाले आयोजक समितिको महासचिवको भूमिका भुलेर कडारियालाई आधिकारिक भन्न थालेपछि बालुवाटरले नै मुख खोल्नुपरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले महाधिवेशन उद्घाटनकै दिन सकेसम्म सर्वसम्मत नभए लोकतान्त्रिक प्रतिस्पर्धाको बाटो खुल्ला रहेको बताएका थिए । त्यसपछि बन्दसत्र सुरू हुँदा अध्यक्षमण्डलले कडारियाको नाम अध्यक्षमा प्रस्ताव गरेपछि हलमा निर्वाचन माग्दै नाराबाजी भएको थियो । नाराबाजी र प्रतिनिधिको विरोधपछि एमाले नेताहरू अनेरास्ववियुयको महाधिवेशनलाई निर्वाचनमा लैजान बाध्य भए ।
यो अवस्थामा रोकायासहितका केहीले कडारियालाई आधिकारिक र पौडेल प्यानललाई अनधिकृत भन्न थालेपछि बालुवाटारले सार्वजनिक रूपमै हस्तक्षेप गरेको छ। प्रधानमन्त्रीका मुख्य सल्लाहकार एवम् एमाले उपमहासचिव विष्णु रिमालले अनेरास्ववियुमा पहिलोपटक ३२ वर्ष उमेर हदअनुसार निर्वाचन भइरहेको बताउँदै यसलाई इतिहासमा यो महत्वपूर्ण मोडका रुपमा ब्याख्या गरेका छन् ।
उनले नयाँ नेतृत्वका लागि दुई युवाहरू प्रकाश पौडेल र डा. सुजन कडरियाबीच प्रतिस्पर्धा भइरहेको बताउँदै यो वा त्यो पक्षका नाममा कटुता नबढाउन पनि सार्वजनिक रुपमै भनेका छन् । ‘यो वा त्यो, यो पक्ष वा त्यो पक्ष’ भन्दै आफैँभित्र कृत्रिम ‘बैरी’ खडा गरी अस्वस्थता र कटुता सिर्जना गर्ने होइन’, उनले रोकायासहितको कदमलाई रोक्ने गरि भनेका छन्, ‘सहमत हुँदा सर्वसम्मत नहुँदा स्वस्थ प्रतिस्पर्धा गर्ने’, पार्टीले अपनाउँदै आएको विधिमा हामीले हाम्रा युवाहरूलाई प्रोत्साहित गर्नुपर्छ ।’
यसअघि गत मंगलबार बन्दसत्र हलमा जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले सर्वसम्मत गरौँ भन्दै अध्यक्षमा डा. कडरिया, उपाध्यक्षमा प्रकाश पौडेल र अञ्जना शिवाकोटी, महासचिवमा दीपक धामीको नाम हलमा प्रस्तुत गरेका थिए ।