एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीसँगको सार्वजनिक विवादलाई थप चर्काउँदै जी–७ शिखर सम्मेलनका क्रममा मेलोनीले आफूसँग फोटो खिच्न बिन्ती गरेको दाबी पुनः दोहोर्याएका छन् ।
अन्तराष्ट्रिय सञ्चारमाध्यम सीएनएनका अनुसार, ट्रम्पले आफ्नो अभिव्यक्तिबाट पछि हट्न अस्वीकार गर्दै मेलोनी नै फोटो खिचाउन इच्छुक रहेको र आफूले उनको आग्रह स्वीकार गरेको बताएका छन । यो विवाद फ्रान्समा सम्पन्न जी–७ शिखर सम्मेलनपछि सुरु भएको थियो ।
इटालीको टेलिभिजन च्यानल ला–७सँगको अन्तर्वार्तामा ट्रम्पले मेलोनीले आफूलाई फोटोका लागि ‘बिन्ती’ गरेको बताएका थिए । ट्रम्पले भनेका थिए, “उनले मसँग फोटो खिच्न निकै चाहन्थिन् ।
म फोटो खिच्न तयार थिइनँ, तर मलाई उनको दया लाग्यो, त्यसैले स्वीकार गरेँ।” तर इटालीकी प्रधानमन्त्री मेलोनीले ट्रम्पको दाबीलाई तत्काल अस्वीकार गर्दै यसलाई ‘पूर्ण रूपमा मनगढन्ते’ भनेकी छन् । सामाजिक सञ्जाल एक्समा सार्वजनिक भिडियो सन्देशमा मेलोनीले भनेकी छन्, ‘डोनाल्ड ट्रम्पका भनाइ पूर्ण रूपमा बनावटी छन्। म वास्तवमै स्तब्ध छु। अमेरिकाका राष्ट्रपतिले आफ्ना निकट सहयोगी राष्ट्रहरूसँग किन यस्तो व्यवहार गर्छन् भन्ने बुझ्न कठिन छ।’
उनले ट्रम्पमाथि पश्चिमी मुलुकका प्रतिद्वन्द्वीहरूप्रति देखाउने नरम व्यवहारको समेत आलोचना गरिन् । यसबीच इटालीका विदेशमन्त्री एन्टोनियो ताजानी ले अमेरिकाको तय भएको भ्रमण रद्द गरेका छन् । उनी अमेरिकी विदेशमन्त्री मार्को रुबियोसँग भेटवार्ता गर्न अमेरिका जाने कार्यक्रम थियो।