स्वीटजरल्याण्डको वार्तास्थलमा पुगे अमेरिकी र इरानी अधिकारी

काठमाण्डु टुडे २०८३ असार ७ गते १५:३१ मा प्रकाशित

 एजेन्सी- शान्ति सम्झौताको प्रयासमा अमेरिकी र इरानी अधिकारीहरु वार्तामा बस्न स्वीटजरल्याण्ड पुगेका छन ।

मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका कतार र पाकिस्तानका अधिकारीहरु पनि वार्तास्थलमा पुगेका छन् । बर्गनस्टकस्थित लुसर्न नजिकैको आल्प्स पहाडमा अवस्थित एक लक्जरी रिसोर्टमा हुने वार्तामा अमेरिकाको नेतृत्व उपराष्ट्रपति जेडी भान्स र इरानको नेतृत्व सभामुख मोहम्मद गलिबाफले गरेका छन् ।

मध्यस्थकर्ताको तर्फबाट पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ लगायतका वार्तास्थलमा पुगिसकेको अलजजिराले जनाएको छ । यो वार्तालाई विश्वभर चासोका साथ हेरिएको छ ।

स्विटजरल्याण्ड प्रस्थान गर्नुअघि अमेरिकी उपराष्ट्रपति जेडी भान्सले वार्ताबाट आणविक मुद्दा र लेबनान युद्धविरामसम्बन्धी विषयमा प्रगति हुने अपेक्षा व्यक्त गरेका थिए ।

उनले इजरायल र लेबनान दुवैको सुरक्षा सुनिश्चित गर्नु नै वार्ताको मुख्य उद्देश्य रहेको उल्लेख गरेका थिए । इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले आफ्नो देशले सम्झौताअनुसार अन्य पक्षले पनि प्रतिबद्धता पूरा गर्नुपर्ने माग गर्ने बताएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us