
काठमाण्डू, ७ असार– भारतमा बन्धक बनाइएका ३५ नेपालीको उद्धार गरिएको छ ।
नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले उत्तराखण्ड प्रहरी र सामाजिक संस्थाको सहयोगमा अपहृत नेपालीको उद्धार गरेको हो ।
राम्रो जागिर मिलाइदिने प्रलोभनमा नेपालका विभिन्न जिल्लाका युवालाई उत्तराखण्डको काशिपुरमा बोलाएर बन्दी बनाइएको खुलासा गरेको छ ।
ती युवाहरुलाई यातना दिएर रकम असुली गरिएको थियो । नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले विज्ञप्ति जारी गर्दै ३५ जनाको उद्धार गरिएको जनाएको छ ।
‘राजदूतावासको जानकारीमा आएपछि परराष्ट्र मन्त्रालयको निर्देशन बमोजिम यस राजदूतावासले उत्तराखण्ड प्रहरी र किन इन्डिया (सामाजिक संस्था) को सहयोगमा यही ३५ जना नेपालीहरूको सफलतापूर्वक उद्धार गरेको थियो’, विज्ञप्तिमा छ ।
दूतावासका अनुसार घटनासँग सम्बन्धित केही व्यक्तिलाई उत्तराखण्ड प्रहरीले पक्राउ गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको दूतावासले जनाएको छ ।
दूतावासका अनुसार बन्दी बनाइएका थप नेपालीको खोजी र उद्धार कार्य जारी छ ।
उद्धार गरिएकाहरूलाई कानूनी प्रक्रिया सकाएर स्वदेश फर्काइने दूतावासले जनाएको छ ।