जनताको सेवा गर्दा मलाई गाली गर्न मिसन चलाइएको छः ओली

काठमाण्डु टुडे २०८२ असार ७ गते १८:५६ मा प्रकाशित

काठमाण्डू, ७ असार– प्रधानमन्त्री केपी ओलीले आफूविरुद्ध गाली गर्न मिसन नै चलाइएको बताएका छन् ।

विश्व योग दिवसका अवसरमा शनिबार ललितपुरमा आयोजित कार्यक्रममा ओलीले आफूले देशका लागि काम गरिरहेको भए पनि गाली गर्ने मिसन चलाइएको बताए ।

आफूले सुशासन र विकासका लागि काम गर्दा गाली आइरहेको उनको भनाइ थियो । आफूलाई गाली गर्न मिसन चलाउनेहरू देख्दा माया लाग्ने ओलीले उल्लेख गरे ।

‘म आफ्नो अनुभव भन्छु । म देशका लागि काम गर्छु, जनताका लागि काम गर्छु, सुशासनका लागि काम गर्छु, विकासका लागि काम गर्छु । मौका पाएका बेला सुशासन, विकास र देशका लागि काम गर्छु । नपाएका बेला पवित्र मनका साथ बस्छु, पवित्र चाहनाका साथ बस्छु, पवित्र भावनाका साथ बस्छु । त्यसकारण म कसैप्रति कुनै वैरभाव केही पनि राख्दिनँ । सधैँ प्रशन्न चित्त हुन्छु’, ओलीले भने, ‘मलाई गाली गरिराखेका हुन्छन् । मिसन छ गाली गर्ने, त्यो कुरा म बुझ्छु । माया लाग्छ गाली गर्नेहरूप्रति, तर म प्रशन्न रहन्छु । किनभने मैले उसलाई बुझाउन सकिनँ, त्यति मात्रै कुरा हो । मेरो बुताभन्दा सायद बाहिरको कुरा हो । म कतिलाई बुझाउन सक्छु, कतिलाई सम्झाउन सक्छु, कतिलाई भेट्न सक्छ । सबैलाई बुझाउन सक्दिनँ ।’

आफ्नो संगतमा आए पनि उनीहरु पनि मान्छे बन्ने दाबी उनको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us