रास्वपाले भन्योः माओवादीसँग मायाप्रीति रहने गरी पारपाचुके ग-यौं, संसदको अवरोध जारी रहन्छ

काठमाण्डु टुडे २०८२ जेठ ३० गते १६:३९ मा प्रकाशित

काठमाण्डू, ३० जेठ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभामा अवरोध जारी राख्नेभएको छ ।

सत्तारुढ काँग्रेस, एमाले र माओवादी केन्द्रबीच भएको दुई बुँदे सहमतिमा रास्वपाले असहमति जनाएको छ ।

रास्वपा सह–प्रवक्ता मनिष झाले तीन दलबीच भएको सहमतिले समस्याको समाधान नदिने बताए ।

माओवादीले आफूहरुलाई समेत दुई बुँदे सहमति मान्न भने पनि आफूहरु तयार नभएको उनको भनाइ थियो ।

तीन दलबीच भिजिट भिसा प्रकरण छानबिनका लागि बनाउने भनिएको सहमतिअनुसार गृह मन्त्रालयका कुनै सहसचिवको नेतृत्वमा समिति बन्न सक्ने आशंका आफूहरुलाई रहेको झाले उल्लेख गरे ।

‘माओवादीले सहमतिका लागि हामीलाई पनि आग्रह गरेको थियो । तर, उहाँहरुले गरेको सहमतिमा समस्याको सामाधान गर्ने ठोस प्रस्ताव उल्लेख नभएकाले हामी सहमत हुन सकेनौं’, झाले भने, ‘उहाँहरुले छानबिन समिति बनाउने भन्नुभएको छ । त्यो समिति गृह मन्त्रालयका कुनै सहसचिवको नेतृत्वमा बन्न सक्छ । त्यसले समस्याको कुनै समाधान गर्दैन ।’

उनले भिजिट भिसाको आवरणमा हुँदै आएको मानव तस्करीबारे छानबिन हुने विश्वसनीय आधार तयार नहुँदासम्म आफूहरुको आन्दोलन जारी रहने बताए ।

झाले आफूहरुलाई छाडेर प्रमुख दुई सत्तारुढ घटकसँग सहमति गरेको माओवादीसँग तत्कालका लागि रास्वपाको ‘पारपाचुके’ भए पनि मायाप्रीति भने कायमै रहने प्रतिक्रिया दिए ।

‘माओवादीसँग मायाप्रीति जारी रहने गरी अहिलेलाई पारपाचुके भएका छौं’, झाले भने,‘ १८/२० दिन हामीसहितको विपक्षी मोर्चाको नेतृत्व गर्नुभएकोमा प्रचण्डजीस्लाई धनवाद दिन चाहन्छौं ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us