फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहीन भए डा. श्रेष्ठ, प्रहरी भन्छः तीव्र रुपमा खोजी कार्य जारी छ

काठमाण्डु टुडे २०८२ असार २ गते १४:४३ मा प्रकाशित

काठमाण्डू, २ असार– डा. केशव श्रेष्ठ फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहीन भएका छन । जिल्ला अस्पताल रामेछापबाट सरुवा भएर हेटौंडा पुगेका उनले आफूलाई झुटो आरोप लगाइएको र आर्थिक चलखेलमा सरुवा गरिएको उनले फेसबुकमा बताएका छन ।

उनी जेठ मसान्तमा रामेछाप अस्पतालबाट बागमती प्रदेश स्वास्थ्य मन्त्रालय हेटौंडा सरुवा भएका थिए । उनले आफ्नो सरुवामा राजनीतिक चलखेल र व्यक्तिगत प्रतिशोध रहेको आरोप समेत फेसबुक मार्फत लगाएका छन ।

करिब २५ महिनाको सेवाकालमा १८ महिना अस्पताल प्रमुखका रूपमा काम गरेका ती चिकित्सकले आफू अस्पताल सुधारको अभियानमा लागेको समयमा विभिन्न षड्यन्त्र र झुटा आरोप खेप्नुपरेको बताएका छन् । उनका अनुसार कर्मचारी प्रशासनका अनियमितता सुधार गर्ने क्रममा केही कर्मचारी समूह र स्थानीय नेताहरूको आँखामा उनी नराम्रोसँग परेको दाबी गरेका छन् ।

‘काम नचाहने, अस्पताललाई निजी सम्पत्ति ठान्ने केही कर्मचारी र स्थानीय नेताहरूले मलाई लगातार बदनाम गर्ने र दबाब दिने काम गरे,’ ती चिकित्सकले बताएका छन् । उनको भनाइ अनुसार अस्पताललाई व्यवस्थित बनाउने क्रममा उनले करारका केही कर्मचारीहरूलाई स्पष्टीकरण सोधेका थिए । यही कारणले केही व्यक्तिहरू उनको विरुद्ध सक्रिय भएका थिए ।

उनले आरोप लगाए अनुसार रामेछापका स्थानीय नेता केदार कार्कीको दबाबमा अस्पताल सञ्चालन गर्नुपर्ने, व्यक्तिगत स्वार्थ पूरा गर्नुपर्ने, होटलका बिलहरू तिर्नुपर्ने जस्ता अनुचित मागहरू आएका थिए । ती मागहरू अस्वीकार गरेपछि उनलाई धम्कीसमेत दिएको आरोप छ । ‘मेरो कार्यकक्षमै आएर ‘३ दिनमा तेरो सरुवा गरिन भने मेरो नाम पनि केदार होइन’ भनेर धम्की दिएको थियो,’ उनले बताएका छन् । उनले मानसिक तनावले गर्दा आत्महत्या गर्ने प्रयाससमेत गरेको खुलासा गरेका छन् ।

‘आफ्नै मेहनतले अस्पताललाई सुधार्दा पुरस्कार पाउनु पर्नेमा उल्टै कारबाही खेप्नुपरेको छ,’ उनले फेसबुकमा लेखेका छन्, ‘नेपालमै केही गर्छु भन्ने सपना देखेको थिएँ, अहिले पश्चाताप भइरहेको छ ।’ उनको खोजीकार्य प्रहरीले तीव्र रुपमा गरिरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us