बंगलादेशमा भएको चुनाव निष्पक्ष भएन, तर इन्डोप्यासिफिकमा मिलेर जान्छौं: अमेरिका

काठमाण्डु टुडे २०८० पुष २४ गते १५:२६ मा प्रकाशित

एजेन्सी – संयुक्त राज्य अमेरिकाले बंगलादेशमा भएको आम चुनाव ‘स्वतन्त्र वा निष्पक्ष’ नभएको दाबी गरेको छ । अमेरिकाले चुनावका क्रममा भएको हिंसाको निन्दा पनि गरेको छ ।

४० प्रतिशत मात्र मत खसेको बंगलादेशको चुनावमा अवामी लिगकी अध्यक्ष शेख हसिनाको दलले लगातार चौथो पटक चुनाव जितेको थियो । निर्वाचनमा विपक्षीले भाग नलिएको र विपक्षी नेताहरुको गिरफ्तारीप्रति पनि अमेरिकाले चिन्ता व्यक्त गरेको छ ।

अमेरिकी विदेश विभागका प्रवक्ता म्याथ्यु मिलरले भने, ‘यो निर्वाचन स्वतन्त्र वा निष्पक्ष नभएको अन्य पर्यवेक्षकहरूको धारणालाई अमेरिका सार्वजनिक गर्छ । यसमा सबै दलहरूले भाग लिएनन्, यसमा हामीलाई खेद छ ।’

अमेरिकाले चुनावको क्रममा र पछिल्ला केही महिनाहरूमा भएको हिंसाको निन्दा गरेको भन्दै उनले बंगलादेश सरकारलाई हिंसाका घटनाको विश्वसनीय रूपमा अनुसन्धान गर्न र दोषीहरूलाई न्यायको कठघरामा ल्याउन अमेरिकाले आग्रह गरेको छ ।

यद्यपि, अमेरिकाले स्वतन्त्र र खुला इन्डो–प्यासिफिक कार्यक्रममा बंगलादेशसँग मिलेर कामलाई जारी राख्न चाहेको पनि उनले बताएका छन । अमेरिकी विदेश मन्त्रालयले बंगलादेशमा मानवअधिकार र नागरिक समाजलाई सहयोग गर्न र दुई देशबीचको जन–जनताबीचको सम्बन्धलाई थप सुदृढ गर्ने गरी काम गर्न तत्पर रहेको पनि जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us