अर्थतन्त्र संकटमा छैनः प्रधानमन्त्री

काठमाण्डु टुडे २०७९ चैत २७ गते १७:३३ मा प्रकाशित

काठमाण्डु, २७ चैत– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको मुलुकको अर्थतन्त्र गम्भीर संकटमा नरहेको बताएका छन् ।

राजधानीमा सोमबार आयोजित एक कार्यक्रममा प्रधानमन्त्रीले बाहिर चर्चा गरिएजस्तो अर्थतन्त्र संकटमा नरहेको बताए । आफू नेतृत्वमा सरकार गठन भएपछि अर्थतन्त्रमा सकारात्मक प्रभाव परेको उनको भनाइ थियो । ‘संकट छ, संकट छ भनेर अलि बढी नै भन्ने गरिएको छ’, उनले भने ‘त्यस्तो स्थिति देशको अर्थतन्त्रको होइन ।’

प्रधानमन्त्रीले १० महिनाका लागि वस्तु तथा सेवाको आयात गर्न धान्ने विदेशी मुद्राको सञ्चिती रहेको भन्दै आत्तिनुपर्ने अवस्था नरहेको उल्लेख गरे । यद्यपि राजश्व संकलनमा भने केही चुनौती रहेको स्वीकार गेर । चोरी पैठारी तथा राजश्व चुहावट नियन्त्रणदेखि अन्य उपाय लगाएर राजश्व संकलन बढाउनेतर्फ सरकार केन्द्रित रहेको बताए । फरक प्रसंगमा उनले बैंकको ब्याजदर घटाउनेबारेमा राष्ट्रबैंक र अर्थमन्त्रालयसँग प्रधानमन्त्री कार्यालयबाट निरन्तर छलफल र सहकार्य भइरहेको जानकारी गराए ।

बैंकको ब्याजदर घटाउनका लागि सरकारले विभिन्न उपाय खोजिरहेको बताए । उनले मुलुकको अर्थतन्त्र सुधारका लागि सरकार गम्भीर रूपमा लागिरहेको दाबी गरे । नयाँ आर्थिक वर्षको बजेट बनाउनुअघि निजी र सरकारी क्षेत्रका प्रतिनिधिसँग बृहत छलफल गर्नेबारे आफूले सोचिरहेको प्रधानमन्त्रीले जनाए ।

सरकार र निजी क्षेत्रले एकले अर्कोलाई आरोपित नगरी सहयोग गरेर मात्र अर्थतन्त्रको चुनौती र दबाबलाई सकारात्मक दिशामा लैजान सकिने उनको भनाइ थियो । फरक प्रसंगमा प्रधानमन्त्रीले
घरजग्गा कारोबारमा सहजीकरण गरिनुपर्ने औंल्याए।

त्यसो नगरी बैंकहरुमा तरलताको समस्या सम्बोधन गर्न नसकिने उनको निस्कर्ष थियो । बैंकबाट लिने अनि तिर्दिन भन्ने अराजक प्रवृत्ति स्वीकार्य नहुने स्पष्टोक्ति उनको थियो ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us