सोमबार पनि उठेन सिंहदरबारको फोहोर

काठमाण्डु टुडे २०७९ चैत २७ गते १७:२२ मा प्रकाशित

काठमाण्डु,२७ चैत– काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)को निर्देशनपछि आइतबारबाट उठ्न छोडेको सिंहदरबारको फोहोर आज (सोमबार) पनि उठ्न सकेको छैन ।

सङ्घ सरकारले आफूलाई नागरिकका समस्या समाधानमा सहयोग नगरेको आरोप लगाउँदै मेयर साहले सिंहदरबार, बालुवाटार र शितल निवासको फोहोर नउठाउन परिवर्तन सेवा प्रालिका कर्मचारीहरूलाई निर्देशन दिएका छन ।

शनिबार बिहान सामाजिक सञ्जालमा एक स्ट्याटस लेख्दै मेयर साहले सिंहदरबारका नेताहरूलाई सिस्डोलमा डम्पिङ गर्नुपर्ने र आइतबारबाट सिंहदरबारको फोहोर नउठाउने बताएका थिए ।

उनको सो अभिव्यक्तिपछि राजनीतिक दलका नेताहरूले उनको विरोध गर्दै आएका छन । राजनीतिक दलका नेताहरूले जिम्मेवार पदमा बसेर गैर जिम्मेवार अभिव्यक्ति दिएको भन्दै मेयर साहको विरोध गरेका थिए ।

आइतबारबाट उठ्न छोडेको सिंहदरबार परिसरको फोहोर सोमबार पनि उठेको छैन । सिंहदरबारबाट फोहोर नउठाएपछि अहिले सिंहदरबारको फोहोर पुतली बगैँचामा थुपारिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us