
काठमाण्डु,२१ पुस– गण्डकी प्रदेशमा प्रदेश सरकार गठनको लागि प्रदेश प्रमुखको कार्यालयले आह्वान गरेको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मुख्यमन्त्री नियुक्तिका लागि आह्वान गरेका हुन ।
प्रदेशमा सरकार बनाउनका लागि दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सकने प्रदेश सभा सदस्यले पुस २५ गते सोमबार ४ बजेभित्र दाबी पेश गर्नु पर्ने छ ।
गण्डकी प्रदेशमा कुनै पनि दलको बहुमत नआएकाले दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमतको सरकार बनाउन आह्वान भएको हो ।
प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले निकालेको विज्ञप्तिमा लेखिएको छ, ‘नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्नसकने प्रदेश सभा सदस्यलाई गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्ती गर्नका लागि पुस २५ गते ४ बजेभित्र दाबी पेश गर्न प्रदेश प्रमुखबाट आह्वान गर्नुभएको व्यहोरा जानकारीका लागि अनुरोध छ ।’
गण्डकी प्रदेशमा एमालेका २२, माओवादीका ८, राप्रपाका २ जना सांसद मिलेर सरकार बन्ने सम्भावना छ । यसबाहेक ६० सदस्यीय गण्डकी प्रदेश सभामा कांग्रेसका २७ र एकीकृत समाजवादीका १ संसद रहेका छन् ।