
काठमाण्डू, १७ जेठ–माओवादी केन्द्र अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शेरा दरबार प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन् ।
माओवादी पत्रकारको संस्था प्रेस सेन्टर नुवाकोटले शनिबार विदुरमा गरेको पत्रकार भेटभाटमा उनले शेरा दरबारबारेको छानबिन आफैंबाट सुरु गर्न यसअघि नै सार्वजनिक रुपमा भनिसकेको स्मरण गरे ।
आफूलाई शेरा दरबार प्रकरणमा जोडेर नियोजित रुपमा पार्टी र नेतृत्वमाथि षड्यन्त्र गर्न खोजिएको उनको भनाइ थियो ।
‘मैले सदनमा उभिएर प्रधानमन्त्री जी तुरून्तै शेरा दरबार प्रकरणमा छानबिन सुरू गरिहाल्नुस् भनेको थिएँ’, प्रचण्डले भने, ‘मैबाट सुरू गरियोस् पनि भनेको थिएँ । छानबिन गर्न आँट हुने स्थिति भएन किनकी मेरो कुनै संलग्नता थिएन ।’
तर, प्रधानमन्त्री केपी ओलीले आफूले जस्तै गिरिबन्धु टी स्टेट प्रकरणमा आफूबाट छानबिन गर्न आग्रह गर्न नसकेको उनको नभाइ थियो । प्रचण्डले भने, ‘अरूले पनि भनेर देखाऊन् ।
गिरिबन्धु मैबाट छानबिन गरौं भनेर प्रधानमन्त्रीजीले भनुन् त । अरू जग्गाको केसमा अरूले भनुन् त ।’ यसअघि नै हिसाब मिलिसकेको लडाकु शिविरको विषय पनि बेलाबेला उठाउने गरिएको भन्दै उनले त्यसमा पनि छानबिन गर्न आफूहरु खुला रहेको उल्लेख गरे ।
शान्ति सम्झौता व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले दिएको र त्यतिबेला अर्थमन्त्री रहेका डा. रामशरण महतले रकम निकाशा गरेको बताए । माओवादीले राम्रो गर्दा र जनता माओवादीप्रति आशावादी हुन थाले भने शिविरको विषय उठाउने गरिएको भन्दै उनले आपत्ति जनाए ।