साझाका आठ बसलाई ‘ब्लु बस’ बनाउने तयारी

काठमाण्डु टुडे २०८३ असार १८ गते १७:४३ मा प्रकाशित

काठमाण्डू, १८ असार– सरकारले काठमाण्डूमा ‘ब्लु बस’ सञ्चालन गर्ने तयारी गरेको छ । पहिलो चरणमा साझा यातायातका आठ वटा बसलाई ब्लु बसमा परिणत गर्ने तयारी भइरहेको पूर्वाधार विकास मन्त्रालयका उपसचिव ज्ञानराज लम्सालले जानकारी दिएका छन । उनले भने, ‘महिलाहरूलाई निःशुल्क र सुरक्षित यात्राका लागि ब्लु बस चलाउने सरकारको नीति अनुसार काम अगाडि बढाएका हौं ।’ ब्लु बसको सञ्चालन खर्च नेपाल सरकारले नै बेहोर्छ ।

साझा यातायातका प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र अर्यालले साझाका आठ वटा बसलाई ब्लु बस बनाउने सैद्धान्तिक सहमति भइसकेको र बजेट लगायतका केही काम बाँकी रहेको पनि उनले बताएका छन ।

रिंगरोडमा चार, लगनखेल–बुढानीलकण्ठ रुटमा दुई र एयरपोर्ट–नागढुंगा रुटमा दुई वटा बस सञ्चालन गरिने अर्यालले जानकारी दिए । उनले सकेसम्म साउन महिनाभित्रै शुरु गर्ने गरी काम भइरहेको पनि उनले बताएका छन ।

सरकारले ल्याएको शासकीय सुधार सम्बन्धी सय बुँदामा महिलाहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न सातै प्रदेशमा निःशुल्क ब्लु बस सेवा सञ्चालन गर्ने भनिएको छ ।

शासकीय सुधारको ९७ औं बुँदामा भनिएको छ, ‘पहिलो चरणमा सय दिनभित्र २५ वटा बस सञ्चालनमा ल्याउने ।’नयाँ बस खरिद गर्दा समय लाग्ने भएकाले सञ्चालन रहेकै बसलाई ब्लु बसको रुपमा चलाउन लागिएको एक सरकारी अधिकारीले बताए । साझा यातायातमा ९० प्रतिशतभन्दा बढी शेयर नेपाल सरकारको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us