
kp oli काठमाण्डू, १७ जेठ–प्रधानमन्त्री केपी ओलीले राष्ट्र निर्माता पृथ्वीनारायण शाहले आफूबाहेक अरूलाई मास्ने काम गरेको टिप्पणी गरेका छन् ।
शनिबार काठमाण्डूमा बुद्धिजिवी परिषद्को महाधिवेशनलाई सम्बोधन गर्दै ओलीले केही मानिसहरू अहिले आएर ‘पृथ्वीपथ’ भनिरहेको तर पृथ्वीनारायण शाहले त्यतिबेला गरेजस्तै आफूबाहेक अरूलाई मास्ने कुरा अहिलेको सन्दर्भमा नमिल्ने बताएका हुन् ।
‘आज त राष्ट्र जोगाउनु र एकतावद्ध बनाउन जरूरी छ । त्यतिबेला मास्नु र एकीकरण गर्नु थियो,’ उनले भने,’ अहिले आएर यतिबेला पृथ्वीपथ रे । पृथ्वीपथबाट गयो भने पोखरा पुग्ने त हो नि । ढाइ सय वर्ष अघिको कुरा ल्याएर देशको विकास ? देशलाई एकतावद्ध बनाउनु छ । पृथ्वीपथले एकतावद्ध ? मारकाट गरेर एकताबद्ध गर्ने ?’
प्रधानमन्त्री ओलीले आजका आवश्यकता अनुसारका नीति चाहिने पनि बताए । ‘एकीकरणको कुरा एउटा होला । एकीकरणको समय एउटा होला । एकीकरणका समयमा पृथ्वीनारायण शाहको विचार र बाटो ठिकै थियो होला । अहिले देशलाई मेलमिलापका साथ अघि बढाउनुपर्ने, जाति जनजाति सबैलाई एक बनाएर विकासको काममा अगाडि बढाउनुपर्ने, लोकतन्त्र, संविधानको रक्षा गर्नुपर्ने बेलामा पृथ्वीपथ ? पृथ्वीनारायणले संविधान भन्ने शब्द सुनेका थिए ?,’ उनले भने ।
प्रधानमन्त्री ओलीले एउटाले पृथ्वीपथ भने अर्काले मल्लपथका कुरा गर्न सक्ने पनि बताए ।’यो पृथ्वीपथ भनेको सुनेपछि अर्काले भन्छ, राजर्षी जनक पथ, यलम्वर पथ, मानदेव पथ, अंशुवर्मा पथ, चल्लपथ, मल्लपथ । यी चल्लपथ, मल्लपथ, के जाति पथ, इतिहासका पथ हुन् की आजका आवश्यकताअनुसारका ?,’ उनले भने ।
उनले विचार अनुसारका जनताको बहुदलीय जनवादको बाटोबाट अघि बढ्नुपर्ने बताए । ‘ढाइ सय वर्ष अगाडिका, आज असान्दर्भिक भएका, त्यतिबेलाका महत्वपूर्ण कुरा होलान् । आज तिनले बाटो देखाउन सक्दैनन् । आजका लागि आजका आवश्यकताअनुसारका नीति चाहिन्छ,’ उनले भने ।
उनले ‘पृथ्वीपथ’को कुरा १३ औं सन्तानको राजा हुने युक्तिमात्रै रहेको पनि बताए ।
‘राजा हुने युक्ति ? अहिले पनि ? आजको समय राजा, रजौटा, तानाशाहहरूको समय होइन, आज लोकतन्त्र र लोकतान्त्रिकरणको समय हो । हामी त्यतै जाँदैछौं,’ उनले भने ।
-न्युज एजेन्सी नेपाल