
काठमाण्डु,१९ पुस– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवंम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय निजामती ऐन आगामी संसदमा पेश गर्नेगरी तयारी गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिएका छन् ।
आज (मंगलबार) प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सचिवहरुको कुरा सुनेका प्रचण्डले आगामी संसदमा संघीय निजामती ऐन पेश गर्ने गरी तयारी गर्न निर्देशन दिएका छन ।
उनले भने, ‘प्रदेश तथा स्थानीय तहहरुमा करिब एकतिहाई कर्मचारी दरबन्दी रिक्त रहेकाले जनशक्ति अभाव भई सेवाप्रवाह र विकास निर्माणमा असर परेको हुँदा प्रदेश तथा स्थानीय तहमा तत्काल कर्मचारी व्यवस्थाको लागि संघीय सरकारी निकायका अनावश्यक दरवन्दी कटौती गरी प्रदेश र स्थानीय तहमा जनशक्ति आपूर्ति गर्ने व्यवस्था संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मिलाउनुहोस् । संघीय निजामती ऐन आगामी संसदमा पेश गर्नेगरी तयारी गर्नुहोस् ।’