
काठमाण्डू, २२ जेठ– नेकपा एकीकृत समाजवादीले पार्टी अध्यक्ष माधवकुमार नेपालमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्धा दायर गरेपछि क्षेत्राधिकार नाघेको आरोप लगाएको छ ।
एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले नयाँ बानेश्वरस्थित संसद् भवनमा बिहीबार सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै यस्तो आरोप लगाएका हुन । उनले पार्टी अध्यक्ष नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेर अख्तियारले क्षेत्राधिकार नाघेको बताए । नेता पाण्डेले नीतिगत निर्णयमा अख्तियारले हस्तक्षेप गर्न नपाउने भन्ने अदालतको फैसलाको उल्लंघन भएको बताए ।
उनले भने, ‘अहिले हाम्रो पार्टीका अध्यक्षमाथि अख्तियारले मुद्दा दर्ता गरेको छ । मन्त्रिपरिषद्को नीतिगत निर्णयमा यसरी मुद्दा दर्ता गरेको अहिलेसम्म मैले सुनेको छैन, ‘यो भन्दा अघि एउटा कुनै विषयमा कुरा उठ्दा अदालतले नीतिगत निर्णयमा मुद्दा चल्दैन भन्ने फैसला गरेको थियो ।
त्यसलाई उल्लंघन गर्दै अख्तियारले क्षेत्राधिकार नाघेर मुद्दा दर्ता गरेको छ ।’ विभिन्न दलहरू मिलेर सरकार बनेको भन्दै उनले सरकार चलाउने दलहरू बीचको रसायन पनि कतिसम्म टिक्ने हो ठेगान नभएको उनले बताए ।