चीनमा तीव्र गतिमा फैलियो कोरोना महामारी, ८० करोड मानिस संक्रमित हुने प्रक्षेपण

काठमाण्डु टुडे २०७९ पुष ७ गते ९:१० मा प्रकाशित

काठमाण्डु, ७ पुस– चीनमा फेरि कोरोना महामारी फैलिएको छ ।

संक्रमणको नयाँ लहर ओमिक्रोनको सबभेरियन्ट बिएफ–७ फैलिएसँगै राजधानी बेइजिङसहित ठूला सहरका अस्पताल बिरामीले भरिएका छन् । कोरोनाका कारण सोमबार दुई र मंगलबार ५ जनाको मृत्यु भएको छ । बीबीसीका अनुसार चीनमा भित्रभित्रै कोरोना संक्रमण भुसको आगो झैं फैलिएकाले भयावह अवस्था आउन सक्ने बताएको छ ।

आगामी केही महिनाभित्र करिब ८० करोड मानिसमा कोरोना संक्रमण हुनसक्ने दाबी बिबिसीको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले चीनमा कोरोनाको नयाँ लहरले चिन्ता बढाएको जनाएको छ । डब्ल्यूएचओका इमरजेन्सी विभाग प्रमुख डा. माइकल रायनले अस्पतालहरुमा आइसीयूका बेड भरिँदै जानु चिन्ताको विषय भएको बताए ।

जेनेभामा आयोजित एक कार्यक्रममा उनले बन्दाबन्दी मात्र कोरोना नियन्त्रणको उपाय नभएको उल्लेख गरे । खोप कार्यक्रमलाई व्यापक नबनाई कोरोनाबाट जोगिन नसकिने बताए । कठोर लकडाउन खुकुलो बनाइएसँगै कोरोना महामारी अहिलेसम्मै तीव्र गतिमा फैलिएको अधिकारीहरुले बताए ।

यस्तै अमेरिका, जापान, दक्षिण कोरिया र ब्राजिलमा पनि तीव्र गतिमा कोरोना फैलिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us