काठमाण्डु उपत्यकासँगै मुलुकभर चिसो बढ्यो

काठमाण्डु टुडे २०७९ मंसिर २९ गते १५:१९ मा प्रकाशित

काठमाण्डु,२९ मंसिर– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाण्डु उपत्यकासँगै मुलुकभर चिसो बढेको भन्‍दै सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा सञ्जयकुमार ठाकुरले जाडो महिनामा केही रोगको प्रकोप बढ्ने भएकोले सर्तकता अपनाउन आग्रह गरेका हुन् ।

 चिसो बढ्दै गएपछि ज्येष्ठ नागरिक, दीर्घरोगी, बालबालिका र गर्भवती महिला विशेष सावधान अपनाउन उनले आग्रह गरे । तथ्याङ्क अनुसार आज विहान काठमाण्डु उपत्यकाको तापक्रम ७।६ डिग्रीमा झरेको छ ।

चिसोबाट बच्न न्यायो लुगा लगाउन, टाउको र छातीलाई चिसोबाट जोगाउन र रातको समयमा सिरक कम्बल जस्ता न्यायो कपडा ओढ्न मन्त्रालयले आग्रह गरेको छ ।

जाडो बढेसँगै तराईका कतिपय जिल्लामा हुस्सुसमेत लाग्न थालेको छ । यस्तै घरबाहिर खुला स्थानमा धेरै समय नबस्न, तातो खानेकुरा तातोपानी पिउन समेत आग्रह गरिएको छ । हिटर वा आगो ताप्दा गिजर प्रयोग गर्दा कोठामा राम्रोसँग हावा आवतजावतको व्यवस्था गर्नुपर्ने मन्त्रालयले बताएको छ ।

हावा आउजाउको व्यवस्था नहुँदा कतिपय अवस्थामा निस्सासिएर दुर्घटना हुनेपर्ने जस्ता घटना अवस्था आउने गरेको पाइन्छ,’ उनले भने, ‘त्यसैले हिटर गिजर प्रयोग गर्दा हावा आवतजावत हुने ठाउँ रहेको हुनुपर्दछ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us