एआईजी पाललाई पक्राउ गर्ने तयारी देउवाले रोके

काठमाण्डु टुडे २०७८ कार्तिक ३० गते ८:०१ मा प्रकाशित

काठमाण्डु, ३० कात्तिक– नेपाल प्रहरीभित्र बहालवाला प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) हरिबहादुर पाललाई मानवअधिकार उल्लंघनसम्बन्धी मुद्दामा पक्राउ गर्ने तयारीमा प्रधानमन्त्रीले हस्तक्षेप गरेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको हस्तक्षेप नभएको भए यति बेला उनी निलम्बित भई थुनामा परिसकेका हुन्थे । महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत एआइजी पाललाई सर्लाहीको ‘कुमार पौडेल इन्काउन्टर प्रकरण’ मा मुद्दा लगाउन खोजिएको हो । प्रहरी महानिरीक्षक शैलेश थापा भारत भ्रमणमा जाने र त्यहीबीचमा निमित्त प्रमुखको जिम्मेवारी पाएका अधिकृतमार्फत यो ‘पक्राउ पुर्जी’ जारी गर्नेसम्मको तयारी भएको खुल्न आएको छ ।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार पौडेलका आफन्तले ‘इन्काउन्टर फेक’ भएको भन्दै गत असोज १७ गते सर्लाही जिल्ला प्रहरी कार्यालयमा हत्यामा संलग्न रहेको आरोप लागेकाहरूविरुद्ध जाहेरी दिएका थिए । सो जाहेरीमा पालमाथि पनि छानबिन होस् भन्ने माग गरिएको छ । तर प्रहरीभित्रको आन्तरिक राजनीतिका कारण उनलाई कार्यकालअघि नै मुद्दा चलाएर हटाउने तयारीमा केही प्रहरी लागिपरेका थिए । उनीहरूले गृहमन्त्री बालकृष्ण खाँणलाई समेत भेटेर पालविरुद्ध मुद्दा चलाउनुपर्ने सुझाव दिएका थिए । तर प्रधानमन्त्री देउवाले यो विषयमा अहिले ध्यान दिनुनपर्ने भनेपछि मात्रै सो कार्य रोकिएको स्रोतको दाबी छ । नागरिक दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us