बोको हरामका ९५ लडाकूको मृत्यु

काठमाण्डु टुडे २०७० कार्तिक ९ गते १२:१६ मा प्रकाशित

नाइजेरिया, ९ कात्तिक– नाइजेरियाको सेनाले मुलुकको उत्तरपूर्वी भागमा बोको हराम लडाकूहरुसँगको भिडन्तमा करिब ९५ लडाकू मारेको जानकारी दिएको छ । सेनाले यस मुलुकमा गत चार वर्षदेखि चलिरहेको इस्लामी विद्रोह नियन्त्रण गर्न सङ्घर्ष गरिरहेको छ र उसले बोर्नेमा विद्रोहीको शिविर नष्ट गर्न बम तथा स्थल सैनिक तैनाथ गरेको जानकारी दिएको छ ।

बोर्नोको केन्द्र माइदुगुरीको बाहिरी भागमा गरिएको कारवाहीमा ७४ लडाकू मारिएको सेनाका प्रवक्ता मोहम्मद डोलले बताए । बोको हराम समूहको स्थापना भएको एक दशकभन्दा बढी भएको छ । यसपछि सोमबार बोर्नोको अर्को भागमा बोको हरामको शिविरमा आक्रमण भएको र त्यसमा ३७ इस्लामी लडाकूको मृत्युभएको बताइएको छ ।

बिहीबार इस्लामी विद्रोहीहरुले पनि दामातुरु नगरमा समन्वयात्मक रूपमा आक्रमण गरी प्रहरीका चार भवनमा आगो लगाइ दिएको एक वरिष्ठ प्रहरी अधिकारीले आफ्नो परिचय नदिने सर्तमा बताए ।

सैनिक प्रवक्ता जनरल इब्राहिम अत्ताहिरुले एक विज्ञप्तिमा बोर्नोमा भएको कारवाहीमा ७० इस्लामी लडाकूको मृत्यु भएको र अन्य दामातुरुतर्फ भागेका र त्यहाँ पनि २५ लडाकूको मृत्यु भएको बताएका छन् । सेनाले यस भिडन्तमा नागरिकको ज्यान गएको विषयमा उल्लेख गरेको छैन । रासस/एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us