विश्वका ३५ नेताको फोनबाट हुने कुराकानी अमेरिकाले सुनेको खुलासापछि नयाँ सम्झौताको खोजी

काठमाण्डु टुडे २०७० कार्तिक ८ गते १४:०९ मा प्रकाशित

ब्रसेल्स, ८ कात्तिक–गुप्तचरीका विषयमा सम्बन्ध बिगार्ने गरी विवाद हुन थालेपछि युरोपेली नेताहरूले आतङ्कवादविरुद्धको युद्धमा नभइनहुने साझेदारी कायम राख्न नयाँ सम्झौता आवश्यक भएको बताएका छन ।
बेल्जियमका प्रधानमन्त्री एलिओ डी रूपोले गोप्य सूचना प्राप्त गर्ने विषयमा अर्थहीन विवाद गर्नुभन्दा नियम बनाइ त्यसमा सहमति हुनु आवश्यक रहेको बताए ।
युरोपेली नेताहरूको शिखर बैठकमा हाल अमेरिकाले युरोपभर गुप्तचरी गरेको सूचनामा प्रमुख रूपमा छलफल भइरहेको छ । उनले यस बैठकको दोस्रो दिन गोपनीयतालाई सम्मान गर्दै आतङ्कवादविरुद्ध युद्ध गर्नुपर्ने बताए । उनले आतङ्कवादको खतरालाई ध्यान दिँदा असाधारण उपायको आवश्यकतामा सबै सहमत भए पनि एक अर्काप्रति गुप्तचरी गर्नुपर्ने अवस्था हुन नहुने बताए ।
फ्रान्स तथा जर्मनीले यस वर्षभित्र गोप्य सूचना सङ्कलन गर्ने विषयमा वासिङ्टनसँग सहमतिमा पुग्ने प्रयास गरिरहेका छन् ।
बेलायतका साथमा युरोपेली महासङ्घका २८ नेताहरूले युरोप तथा अमेरिकाबीच नजिकको सम्बन्ध र त्यसको मूल्यका विषयमा जोड दिएका छन् । बेलायतको अमेरिकासँग गुप्तचरीका विषयमा नजिकको सम्बन्ध रहेको छ ।
नेताहरूले यस्तो सम्बन्ध सम्मान तथा विश्वासमा आधारित हुनुपर्ने र त्यसको अभावमा गोप्य सूचना सङ्कलन गर्ने कुरामा आवश्यक सहयोगलाई बिगार्नसक्ने बताएका छन् ।
युरोपेली महासङ्घका नेताहरूले आतङ्कवादविरुद्ध युद्ध गर्न गोप्य सूचना सङ्कन गर्नु अति आवश्यक रहेको बताएका छन् ।
अमेरिकाले गोप्य रूपमा गुप्तचरी गरिरहेको र जर्मन चान्सलर एङ्गेला मर्केलको मोबाइल फोन पनि टेप गरिएको भन्ने समाचारले युरोपलाई क्रुद्ध बनाएको छ ।
चान्सलर मर्केलले साथीहरूबीच गुप्तचरी गर्न नहुने बताइन । उनले साझेदारहरू बीच विश्वास आवश्यक पर्ने तथा त्यसलाई पुनः स्थापना गर्नुपर्ने बताइन ।
यस काण्डले अमेरिकी राष्ट्रपति बाराक ओबामालाई नराम्रो अवस्थामा पु¥याएको छ भने अमेरिका तथा फ्रान्स, जर्मनी, ब्राजिल र मेक्सिकोबीच नराम्रो भनाभन भएको छ ।
बेलायतको गार्जियन दैनिकले वासिङ्टनले विश्वका ३५ नेताहरूको फोनबाट हुने कुराकानी सुनेको समाचार दिएको छ ।
अमेरिकी गुप्तचर ठेक्केदार एडवर्ड स्नोडनले गुप्तचरीका जानकारी चुहाएपछि फ्रान्सेली राष्ट्रपति फ्राँस्वा अलोँले यस विषयमा पुनरावलोकन गर्न युरोपेली महासङ्घले एक एकाइ स्थापना गरेको बताउँदै नयाँ आचार संहिताको आवश्यकताका बारेमा जोड दिए । उनले यी विशेषज्ञहरूले अमेरिकी विशेषज्ञसँग मिलेर आफ्नो कार्य अगाडि बढाउनुपर्ने बताए ।
यसैबीच अमेरिकी राष्ट्रपति ओबामाका सल्लाहकारले अमेरिकी गुप्तचरीले उसका मित्रहरूसँग समस्या सिर्जना भएको बताए । राष्ट्रपतिको गृह सुरक्षा तथा आतङ्कवाद नियन्त्रणसम्बन्धी सहयोगी लिसा मोनाकोले हालैका विवादले अमेरिकाको नजिकका साझेदारहरूसँगको सम्बन्धमा चुनौती देखिएको युएसए टुडेमा उल्लेख गरेका छन । उनले राष्ट्रपतिले विदेशी साझेदारहरूका विषयमा अमेरिकी गुप्तचरी क्षमतामा पुनरावलोकन गर्न निर्देशन दिएको पनि जनाएका छन ।
यसबीच अमेरिकाले केही विदेशी गुप्तचर सेवाहरूलाई उनीहरूले वासिङ्टनलाई कसरी गोप्य रूपमा सहयोग गरिरहेका छन् भन्ने कुराको कागजात पनि स्नोडनले प्राप्त गरेको जानकारी दिएको वासिङटन पोस्टले समाचार दिएको छ ।
अमेरिकी प्रशासनका एक अधिकारीलाई उद्धरण गर्दै यस पत्रिकाले स्नोडनले प्राप्त गरेको कागजातमा इरान, रसिया तथा चीन जस्ता मुलुकविरुद्धका कार्यक्रमका विषयमा संवेदनशील सामग्री पनि परेको उल्लेख गरेको छ ।
यस काण्डका कारण युरोप क्रुद्ध बनेको छ र युरोपेली महासङ्घका केही अधिकारीले युरोपेली महासङ्घ तथा अमेरिकाबीचको स्वतन्त्र व्यापार सम्झौता स्थगन गर्न सकिने बताएका छन् । जर्मन चान्सलर मर्केल तथा बेल्जियमका प्रधानमन्त्री डी रूपोले यस्तो कार्य गर्न नहुने र यसले समस्या अझै बढाउने बताएका छन ।
युरोपेली संसदले युरोपेली महासङ्घलाई आतङ्वाद नियन्त्रण गर्न अमेरिका तथा युरोपेली महासङ्घबीच तथ्याङ्क आदान प्रदान गर्ने कार्य स्थगन गर्न समेत भनेको छ । रासस/एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us