सिक्किम विधानसभामा ‘सिक्किम क्रान्तिकारी मोर्चा’ प्रचण्ड बहुमतका साथ विजयी, मुख्यमन्त्री बन्दै नेता प्रेमसिंह तामाङ

काठमाण्डु टुडे २०८१ जेठ २० गते १५:१६ मा प्रकाशित

एजेन्सी– भारतको सिक्किममा एक पटक फेरि ‘सिक्किम क्रान्तिकारी मोर्चा’ले सरकारको नेतृत्व गर्ने पाउने भएको छ । सिक्किम विधानसभाको हालै सम्पन्न मत परिणामले ‘सिक्किम क्रान्तिकारी मोर्चा’ बहुमतका साथ सरकारको नेतृत्व गर्ने पक्का भएको छ ।

भारतको सिक्किमका कुल ३२ सदस्यीय विधानसभामा ‘सिक्किम क्रान्तिकारी मोर्चा’ले ३१ सिटमा विजयी भएको छ । सिक्किम विधानसभामा कांग्रेस आई र भारतीय जनता पार्टीको उपस्थिति शून्य रहेको छ । ‘सिक्किम क्रान्तिकारी मोर्चा’का नेता प्रेमसिंह तामाङ मुख्यमन्त्रीमा दोहोरिने भएका छन् ।

आफ्नो पार्टीको प्रचण्ड जितपछि उनले दोस्रो कार्यकाल सुरु गर्ने सहज अवस्था प्राप्त गरेका हुन् । ‘पीएस गोले’ उपनामबाट समेत चिनिने प्रेमसिंह तामाङले सन् २०१९ को निर्वाचनमा आफ्नो पार्टीलाई १७ सिट दिलाएका थिए ।

त्यसपछि सिक्किमको मुख्यमन्त्री बनेका उनले अहिले विधानसभामा आफ्नो पार्टीको उपस्थिति एकलौटीजस्तो बनाएका हुन् । सन् २०१९ मा उनले २४ वर्षदेखि सत्तामा रहँदै आएका पवन चाम्लिङलाई विस्थापित गरेका थिए ।

तामाङले सन् २०१३ मा पूर्वमुख्यमन्त्री चाम्लिङको पार्टी ‘सिक्किम डेमोक्रेटिक फ्रन्ट’मा विद्रोह गरेर ‘सिक्किम क्रान्तिकारी मोर्चा’ गठन गरेका थिए ।

त्यसको अर्को वर्ष भएको निर्वाचनमा ‘सिक्किम क्रान्तिकारी मोर्चा’ले विधानसभाका ३२ मध्ये १० सिटमा जित हासिल गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us