इरानी राष्ट्रपति रायसीको हेलिकप्टर दुर्घटनामा निधन

काठमाण्डु टुडे २०८१ जेठ ७ गते १२:०९ मा प्रकाशित

एजेन्सी– इरानका राष्ट्रपति इब्राहिम रायसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानको हेलिकोप्टर दुर्घटनामा निधन भएको खुलेको छ । हिजो आइतबार हेलिकप्टर दुर्घटनामा परेका उनको अवस्था अज्ञात रहेको थियो ।

एक इरानी अधिकारीलाई उद्धृत गर्दै दुर्घटनामा हेलिकप्टर पूर्ण रुपमा जलेको समाचार एजेन्सी रोयटर्समा उल्लेख गरीएको छ । उद्धारकर्मी सोमबार बिहान घटनास्थल पुगेका थिए ।

दुर्घटना स्थलको मौसम निकै खराब रहेकोले उद्धार टोलीलाई घटनास्थलसम्म पुग्न निकै कठिनाइ भएको थियो । टर्किले राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर पत्ता लगाउन ड्रोन पठाएको थियो। टर्कीको समाचार एजेन्सी अनादोलुले एक ठाउँमा अत्यधिक तापको स्रोत भेट्टाएको तस्वीर सार्वजनिक गरेको थियो ।

टर्कीले प्राप्त गरेको यो सूचना इरानलाई जानकारी गराएको थियो । दुर्घटनाग्रस्त हेलिकप्टरमा इरानी राष्ट्रपति इब्राहिम रायसी, विदेशमन्त्री होसेन अमीर–अब्दुल्लाहियान, इरानको पूर्वी अजरबैजान प्रान्तका गभर्नर मलिक रहमाती, पाइलट, सुरक्षा प्रमुख र चालक दलका सदस्य सवार रहेका थिए ।

राष्ट्रपति रायसी क्विज कालासी र खोडाफरिन बाँधको उद्घाटन गर्न अजरबैजान गएका थिए । बाँध उद्घाटन लगत्तै उनी तबरिज सहरतर्फ लागेका थिए । इरानको पूर्वी अजरबैजान प्रान्तको राजधानी तबरिज जानेक्रममा हेलिकप्टर बाटैमा दुर्घटनाग्रस्त भएको थियो ।

दुर्घटना भएको ठाउँमा भिजिबिलिटी निकै कम छ रहेको बीबीसीले उल्लेख गरेको छ । बाक्लो कुहिरोका कारण भिजिबिलिटी कमजोर हुँदा उद्धार प्रभावित भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us