रुसी राष्ट्रपति पुटिनका कट्टर आलोचक नाभाल्नीको जेलभित्रै मृत्यु

काठमाण्डु टुडे २०८० फागुन ५ गते १२:४६ मा प्रकाशित

एजेन्सी–  रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक एलेक्सी नाभाल्नीको जेलभित्रै मृत्यु भएको छ । उनको मृत्यु रूसको सबैभन्दा कठोर मानिने जेल आर्क्टिक सर्कलमा भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जानकारी दिएका छन ।

विभिन्न अभियोगमा १९ वर्षको जेल सजायँ सुनाइएका नाभाल्नीलाई एक वर्ष अघिमात्र स्थानान्तरण गरेर त्यहाँ पुर्याईएको थियो । ४७ वर्षीय नाभाल्नीको मृत्युको कारण नखुलेको बीबीसीले जानकारी दिएको छ ।

जेल प्रशासनले उनी शुक्रबार अचेत भएको र उपचार गर्दा पनि बचाउन नसकिएको जनाएको थियो । उनको मृत्युको जानकारी पुटिनलाई दिइसकिएको छ । नाभाल्नीका वकिलले भने यसबारे सञ्चारमाध्यमलाई प्रतिक्रिया दिन नमानेको बीबीसीले जनाएको छ ।

नाभाल्नी सन् २०२० को अगस्टमा विष हमलामा परेका थिए । हवाईजहाज चढेर साइबेरियाबाट मस्को जाने क्रममा स्नायुमा असर गर्ने नोविचोक नामको विष झुक्याएर खुवाइएको थियो ।

उनी हवाईजहाज भित्र एक्कासी बिरामी परेपछि आपत्‌कालीन अवतरण गर्नुपरेको थियो । त्यसपछि लामो समय जर्मनीमा लगेर उपचार गराइएको थियो । जर्मनीबाट रुस फर्किएलगत्तै उनी पक्राउ परेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us