
एजेन्सी– हिजो बिहीबार भारतको नयाँ दिल्लीको अलिपुरमा रहेको एक केमिकल गोदाममा आगलागी हुँदा सात जनाको मृत्यु भएको छ ।
आगलागीबाट नजिकैका पसल र घर जलेर ध्वस्त भएको भारतीय सञ्चार माध्यमले जानकारी दिएका छन । धुवाँको मुस्लो केही किलोमिटर टाढाबाट पनि देखिन्थ्यो ।
करिब तीन घण्टाको प्रयासपछि आगो नियन्त्रणमा आएको भारतका सञ्चार माध्यमले जानकारी दिएको छ । त्यसपछि खोजी अभियानमा सात जनाको शव निकालिएको थियो ।
भित्र फसेका बाँकी व्यक्तिहरूको खोजी कार्य जारी रहेको बताइएको छ । आगो लागेपछि नजिकैका मानिसहरू भागेर ज्यान बचाउन पुगेका थिए । आगलागीको कारण अझै थाहा हुन सकेको छैन ।
बिहीबार साँझ करिब ५ः३० बजे अलिपुरको एच ब्लक दयाल मार्केटमा रहेको केमिकल गोदाममा आगलागी भएको जानकारी प्रहरी र दमकल विभागलाई प्राप्त भएको अधिकारीहरूले बताएका छन्।
घटनाको जानकारी पाए लगत्तै घटनास्थलमा पुगेका २२ वटा दमकलको सहयोगमा तीन घण्टाभित्र आगो नियन्त्रणमा लिएको थियो ।