
एजेन्सी– सामाजिक सञ्जाल कम्पनी फेसबुकका मालिक एवं अमेरिकी व्यापारी मार्क जुकरबर्गको सम्पत्ति एकै दिनमा २८ अर्ब डलरभन्दा बढीले वृद्धि भएको छ । यो वर्ष अहिलेसम्मको अवधिमा जुकरबर्गको सम्पत्ति ४२ अर्ब ४० करोड डलर थपिएको अमेरिकी आर्थिक पत्रिका ब्लुम्बर्गको बिलेनियर्स इन्डेक्सले जानकारी दिएको छ ।
आइतबार एकैदिन उनको सम्पत्ति २८ अर्ब १० करोड डलरले बढेको थियो । यो वृद्धिसँगै जुकरबर्ग माइक्रोसफ्टका सह–संस्थापक बिल गेट्सलाई उछिनेर विश्वकै चौथो धनी व्यक्ति बन्न सफल भएका छन ।
यसवर्ष सम्पत्ति वृद्धिमा जुकरबर्ग सूचकमा समेटिएको सबै अर्बपतिहरु भन्दा अगाडि रहेका छन । मेटामा जुकरबर्गको १३ प्रतिशत शेयर रहेको छ । मेटाको शेयरमा भएको वृद्धिसँगै यसको मूल्य बढेर १ खर्ब ७० अर्ब डलर पुगेको छ । शुक्रवार मात्रै मेटाको शेयर २० प्रतिशतले बढेर प्रतिकित्ता ४७४ डलर ९९ सेन्टको कीर्तिमानी उचाइमा उक्लिएको थियो ।
कम्पनीले पहिलोपटक लाभांश वितरण गर्ने घोषणा गरेपछि शुक्रवार एकै दिनमा कम्पनीको बजार पुँजीकरण २ खर्ब ४ अर्ब ५० करोड डलर थपिएको थियो । वाल स्ट्रिटमा कुनै पनि कम्पनीको शेयर मूल्यमा भएको यो अहिलेसम्मकै धेरै वृद्धि थियो ।
सन् २०२३ मा मेटाको शेयर मूल्य १५० प्रतिशतले बढेको थियो । यस वर्ष अहिलेसम्मको अवधिमा यसमा ३४ प्रतिशतको वृद्धि देखिएको छ । सन् २०१२ मा फेसबुकको आइपिओ जारी भएयता यसको मूल्य १ हजार १४९ प्रतिशतले बढेको छ ।
फेसबुकले सन् २०२१ को अक्टोबरमा कम्पनीको नाम फेरेर मेटा राखेको थियो । जुकरबर्गले कम्पनीमा रहेको आफ्नो शेयरबाट ७० करोड बराबरको लाभांश पाउँने भएका छन ।