
एजेन्सी– डच सहर डेल्फ्टका रेस्टुराँका लागि त्यहाँका एक पुरुष टाउको दुखाइको विषय बनेका छन् । ५८ वर्षका एक पुरुष गएका केही वर्षयता कम्तीमा पनि १२७ पटक रेस्टुराँहरूमा पैसा नै नतिरी खाना खाएको खुलेको छ ।
यही महिनाको सुरुमा डेल्फ्टका प्रहरीहरूले आफू बिरामी परेको झुटो नाटक गरेर रेस्टुराँमा खाएको पैसा नै नतिरीकन बाहिर जानै लागेको बेलामा ती एक पुरुषलाई पक्राउ गरेको थियो । रेस्टुराँमा ती पुरुषले भएजति सबै खानेकुरा मगाउँदै सबैलाई बाँडिरहेका थिए । उनको यो व्यवहारले रेस्टुराँका बार टेन्डरको ध्यान ती पुरुषप्रति गयो ।
पैसा तिर्ने बेलामा भने स्ट्रोक आउन लागेझैँ तिनको बायाँ हात अनियन्त्रित रूपमा काम्न थाल्यो । तत्कालै रेस्टुराँका कर्मचारीहरूले एम्बुलेन्स बोलाए । एम्बुलेन्सका चिकित्सकहरूले चेकजाँच गर्ने क्रममा ती पुरुषले स्ट्रोक आउन लागेको झुटो नाटक गरेको थाहा पाए । अनि अस्पताल लैजान मानेनन् । भर्खरै माइल्ड स्ट्रोक भएको देखेर रेस्टुराँका मालिकले बिल पछि मिलाउँला भने ।
रेस्टुराँमा आफ्नो नाम र ठेगाना दिने बेलामा उनले दिएको ठेगाना आफूसँग केही बेर अघि टिपाएको नाम र ठेगानासँग मिलेन भने एम्बुलेन्सका एक चिकित्सकले बताएका थिए । ति पुरुषले १०८ डलर तिर्न बाकीँ रहेको छ । बिरामीको नाटक गरेर ती पुरुषले १०८ डलर बराबरको बिल तिर्नबाट बच्न खोज्दै थिए । एम्बुलेन्सकै कर्मचारीको सल्लाहमा रेस्टुराँ मालिकले प्रहरीलाई जानकारी दिएको छ ।
पहिचानको लागि बगलीमा खानतलासी भयो । प्रहरी थानामा पक्राउ परेका व्यक्तिको फाइल खोजतलास गर्दा उनी स्थानीय रेस्टुराँमा वर्षौँदेखि खाएर पैसा नै नतिर्ने खाना चोर भएको महसुस प्रहरीहरूले गरे ।
ती पुरुषविरुद्ध रेस्टुराँमा खाना खाएको तर पैसा नतिरेको भन्दै कम्तीमा १२७ ओटा उजुरी भेटिएको थियो । उनी विरुद्ध देवानी मुद्दा दायर भइसक्दा पनि उनको बानीमा सुधार भने आएन ।
ती पुरुष अझै पनि हिरासतमै छन् कि छैनन् भन्ने चाहिँ स्पष्ट छैन । सहरभरका रेस्टुराँमा उनले खाएर नतिरेको हजारौँ युरो कसरी तिराइन्छ भन्ने पनि थाहा हुन सकेको छैन ।