
एजेन्सी– मोरक्कोमा शक्तिशाली भूकम्प जाँदा कम्तीमा २ सय ९६ सर्वसाधारणको मृत्यु भएको छ ।
शुक्रबार राति मध्य मोरक्कोमा ६.८ म्याग्निच्युडको भूकम्प गएको त्यहाँको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ ।
बीबीसीका अनुसार भूकम्पले भत्किएका भवनका भग्नावशेषमा ठूलो संख्यामा मानिसहरू पुरिएका छन् । सुरक्षाकर्मी र स्वयंसेवकले उद्धारकार्य जारी राखेका छन् ।
भूकम्पको केन्द्रविन्दु माराकेसबाट ७१ किलोमिटर दक्षिण पश्चिममा रहेको हाई एटलस माउन्टेनमा रहेको बीबीसीले जनाएको छ । अमेरिकी भूगर्भविभागका अनुसार भूकम्पको गहिराइ १८.५ किलोमिटर छ ।
भूकम्पमा परी माराकेस र त्यसआसपासका बासिन्दाहरूको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् । भूकम्पका कारण माराकेसको पुरानो सहरका धेरै भवन भत्किएका छन् ।
भूकम्पका बेला भवनहरु ढल्दै गरेका भिडियोहरू सामाजिक सञ्जालमा पोष्ट भएका छन् । भूकम्पपछि पराकम्प आउने क्रम जारी रहेकाले सरकारले मानिसहरुलाई घरबाहिरै रहन भनेको छ ।