मोहनबहादुर बस्नेत भ्रष्टाचार मुद्धामा दोषी ठहर

काठमाण्डु टुडे २०८२ असार ६ गते २०:२६ मा प्रकाशित

काठमाण्डू, ६ असार– काठमाण्डूको नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेत भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।

विशेष अदालतका न्यायाधीशहरू टेकनारायण कुँवर र रामबहादुर थापाको इजलासले शुक्रबार बस्नेतलाई दोषी ठहर गरेको हो ।

बस्नेतले घूस लिएको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गत १५ पुसमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । बस्नेतविरुद्ध सम्पत्ति शुद्धीकरण र घुस लेनदेनसम्बन्धी मुद्दा दायर भएको थियो ।

बस्नेतले पद्मा कोलोनीका अध्यक्ष राजु कँडेलले ९ करोड २२ लाख ४६ हजार ३२ रुपैयाँ घुस दिएको अख्तियारको अभियोगपत्रमा उल्लेख थियो ।
बस्नेतलाई १३ करोड १२ लाख ७३ हजार ३२ रुपैयाँ बिगो तथा सोही बराबरको रकम जरिवानाको फैसला गरेको छ ।

बस्नेत पत्नी उर्मिला बस्नेतलाई भने प्रत्यक्ष रुपमा घूस लेनदेनमा संलग्न नदेखिएकाले सफाई दिइएको विशेष अदालतले जनाएको छ ।

यस्तै अर्का प्रतिवादी पद्मा कोलनीका सञ्चालक राजु कँडेलले सम्पत्ति शुद्धीकरण कसुरमा सफाई पाएका छन् । तर, घूस बुझाएको कसुरमा भने उनी पनि दोषी ठहर भए ।

यद्यपि बस्नेत र कँडेलको सजाय निर्धारणका लागि आगामी १६ मा अर्को पेसी तोकिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us