मोटरसाइकल र साइकल ठोक्किँदा ३ जनाको मृत्यु

काठमाण्डु टुडे २०८२ असार ६ गते २१:१६ मा प्रकाशित

सिरहा, ६ असार– सिरहको सिरहा नगरपालिका–१८ लक्ष्मीनियास्थित हुलाकी सडक खण्डमा शुक्रबार दिउँसो मोटरसाइकल र साइकल एकआपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश २–०१००३ प ३२३० नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको साइकल एकआपसमा ठोक्किएका हुन् ।

दुर्घटनामा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए ।

मृत्यु हुनेहरूमा मोटरसाइकलमा सवार सिरहाको कल्याणपुर नगरपालिका–२ बेल्हाका २४ वर्षीय प्रदीप मुखिया, कल्याणपुर–१२ का २२ वर्षीय नरेश मुखिया र साइकलमा सवार सिरहा नगरपालिका–२ का ४५ वर्षीय कुसे राय छन् ।

गम्भीर घाइते भएका तीनै जनालाई उपचारका लागि प्रादेशिक अस्पताल सिरहा लगिएको थियो । चिकित्सकले सबैलाई मृत घोषणा गरेका थिए ।

मृतकहरूको शव पोस्टमर्टमका लागि अस्पतालमा राखिएको प्रहरीले जनाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us