
काठमाण्डू, ३० जेठ– गत १५ चैतमा काठमाण्डूको तीन कुने क्षेत्रमा राजावादी समुहले गरेको अराजक र हिंशात्मक प्रदर्शनको क्रममा पक्राउ परेका विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईँले जिल्ला अदालत काठमाण्डूमा बयानका क्रममा चैत १५ गते तीनकुनेबाट जफत भएको आफ्नो गाडी फिर्ता मागेका छन् ।
तीनकुनेमा भएको राजावादीको हिंस्रक पदर्शनीका क्रममा प्रसाईँले बा प्र ०१ ०२७ च ३६४७ नम्बरको गाडी आफैँले चलाउँदै निषेधित क्षेत्रतर्फ प्रवेश गरेका थिए । प्रसाईँले ‘आऊ आऊ’ भन्दै प्रदर्शनकारीलाई उक्साएर सुरक्षाकर्मीमाथि उक्त गाडी हुत्याएका थिए । सुरक्षाकर्मीले गाडी नियन्त्रणमा लिने प्रयास गरे पनि प्रसाईँ निषेधित क्षेत्र तोडेर तीनकुनेबाट नयाँ बानेश्वरस्थित संसद् भवनतर्फ अगाडि बढेका थिए । तीन तहको सुरक्षा घेरा तोडेपछि सुरक्षाकर्मीले शान्तिनगरबाट उक्त गाडी नियन्त्रणमा लिएका थिए ।
त्यसपछि प्रसाईँसहित गाडीमा सवार उनका समर्थकहरु त्यहाँबाट हिँड्दै तीनकुनेतर्फ गएका थिए । उक्त प्रकरणमा प्रसाईँले अदालतसमक्ष गरेको थुनछेक बहसका क्रममा तीनकुने घटनामा आफ्नो कुनै संलग्नता नरहेको र आफूले कसैलई नउक्साएको पनि दाबी गरेका छन् । त्यसदिन आफूहरुले शान्तिपूर्ण जनआन्दोलन घोषणासभा कार्यक्रम गर्न लागेकोमा आफू जानुअगावै उक्त क्षेत्र कुरुक्षेत्रको जस्तो रनभूमि बनिसकेको बताएका छन् ।
त्यसपछि आफू ज्यान बचाउन सुरक्षित स्थान (बानेश्वरतर्फ) मा गएको जिकिरि गर्दै उनले त्यसबाहेक आफूलाई केही थाह नभएको बयान दिएका छन् । तीनकुने प्रकरणमा पक्राउ परेका अन्य प्रतिवादीहरुले प्रसाईँको नाम पोलेका छन् । प्रहरीलाई किच्ने र ठक्कर दिनेगरी अनियन्त्रित रुपमा गाडी चलाएको र भिडलाई उत्तेजित बनाइ संसद् भवनतर्फ गएको भन्ने प्रतिवादीहरुले बताएको कुरा झुटो भएको पनि प्रसाईँको जिकिर छ ।
यस्तै सहप्रतिवादीहरुलाई आफूले नचिन्ने दाबी गर्दै धवल शमशेर राणा र रविन्द्र मिश्रले बताएअनुसार त्यसदिनको कार्यक्रम आफ्नो नेतृत्वमा मात्रै नभएको उनको भनाइ छ । मिश्र र राणासमेत सामेल भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) समेतको सहमतिमा संयुक्त रुपमा उक्त कार्यक्रम भएको दाबी उनको छ । त्यसदिन मिश्र र राणासहित अन्यसँग फोनमा सम्पर्क पनि भएको बयान उनले गरेका छन् । भिडलाई उत्तेजित बनाउने कुनै कार्य नगरी ज्यान बचाउन सावधानीपूर्वक गाडी चलाएर प्रहरीको घेरामा गएको उनको भनाइ छ ।
‘निजहरु (अन्य प्रतिवादी)ले गरेको कागजमा मैले गाडी जर्बजस्ती प्रहरी भएकोतिर तिव्र गतिमा लगी प्रहरीलाई घाइते बनाइ, भिडलाई संसद् कब्जा गर्नुपर्छ भनी उत्तेजित बनाएको व्यहोरा झुठ्ठा हो,’ उनले बयानमा भनेका छन्, ‘कार्यक्रममा जाँदा कार्यक्रमस्थलमा अश्रुग्यास, ढुङ्गामुढा प्रहार र गोली चलेकाले म आफ्नो ज्यान बचाउन र प्रहरीको घेरामा सुरक्षित हुन जाँदा आऊ आऊ भनेको हुँ ।’
त्यसदिन आफूले भिडलाई उत्तेजित पार्ने कुनै कार्य नगरी ज्यान बचाउन सुरक्षा घेरामा गएकाले आफूले सफाइ पाउनुपर्ने बयान अदालतमा उनले गरेका छन् । यस्तै उनले त्यसदिन जफत भएको गाडी पनि फिर्ता मागेका छन् । ‘जफतको मागदाबी लिइएको मैले प्रयोग गर्ने हस्पिटल जस्तो संवेदनशील संस्थाको भएको तथा लामो समयसम्म प्रयोग नगरी राख्दा गाडी बिग्री काम नलाग्ने अवस्थाको हुने हुँदा उक्त गाडी जफत होइन, सो गाडी फिर्ता दिलाइपाऊँ ।’