सभामुख घिमिरे र प्रधानमन्त्री प्रचण्डबीच छलफल, ओलीसँग कुरा गर्ने प्रधानमन्त्रीको आश्वासन

काठमाण्डु टुडे २०८० जेठ २२ गते ११:३९ मा प्रकाशित

काठमाण्डु, २२ जेठ– प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको अवरोध हटाउन नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गरेका छन् ।

प्रधानमन्त्रीसँगको छलफलमा सभामुख घिमिरेले बजेट पारित गर्न समयको चाप रहेको स्मरण गराउँदै विपक्षी दलसँग संवाद गर्न आग्रह गरेका छन ।

हिजो (आइतबार) बसेकाे प्रतिनिधि सभा अवरोध भए लगत्तै सभामुखले प्रधानमन्त्रीसँग टेलिफोन संवाद गरेर सभामुख घिमिरेको सचिवालयले जानकारी दिएको छ ।

‘प्रधानमन्त्रीको भारत भ्रमणका कारण चार दिन व्यतीत भइसकेको छ, अझै सदनमा अवरोध हुने हो भने बजेट पारित गर्न समय अभाव हुन्छ,’ प्रधानमन्त्रीलाई सभामुखले भनेका छन्, ‘समयमा नै संवादबाट निकास खोजौँ, अब सदन अवरोध भइरहन सक्दैन ।’

सभामुखसँगको संवादमा अध्यक्ष दाहालले सदनमा विपक्षीले उठाएको मागबारे आफू जानकार रहेको भन्दै सोमबारको संसद्मा आफूले प्रस्टीकरण दिने बताएका छन ।

‘म एमाले अध्यक्ष केपी शर्मा ओली सहित विपक्षी दलसँग पनि कुरा गर्छु, सरकारका तर्फबाट लचकता र पहल हुन्छ,’ प्रधानमन्त्रीले सभामुखलाई विश्वस्त तुल्याएका छन् ।

सभामुखले एमाले प्रमुख सचेतक पदम गिरी, रास्वपा प्रमुख सचेतक सन्तोष परियार र राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाही मार्फत विपक्षी दलहरूलाई बजेट पारित गर्ने समयसीमा बुझिदिन समेत आग्रह गरेका छन ।

यस्तै एमाले प्रमुख सचेतक पदम गिरीले अहिलेसम्म सदन सुचारु गर्ने विषयमा प्रधानमन्त्री प्रचण्डले कुनै आफूहरूसँग कुनै छलफल नगरेको बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us