शिकारीको गोली लागेर युवतीको मृत्यु

काठमाण्डु टुडे २०८० जेठ २२ गते ७:३० मा प्रकाशित

कालिकोट, २२ जेठ– कालीकोटमा सिकारीले हानेको गोली लागेकी किशोरीको मृत्यु भएको छ ।

जिल्लाको नरहरिनाथ गाउँपालिका–५ रुप्साकी १७ वर्षीया यलिसा सहकारीको मृत्यु भएको हो । जेठ १९ गते दिउँसो मकैबारीमा मकै गोड्दै गर्दा स्थानीय एक सिकारीले हानेको गोली लागेर सहकारी घाइते भएकी थिइन् ।

घाइते सहकारीको प्राथमिक स्वास्थ्य चौकी कुमालगाउँमा उपचार सम्भव नभएपछि कर्णाली प्रदेश अस्पताल सुर्खेत रिफर गरिएको थियो । उनको उपचारकै क्रममा आइतबार सुर्खेतमा मृत्यु भएको स्थानीय नेत्रराज बोगटीले बताए ।

गाउँकै एक स्थानीयले भरुवा बन्दुकले ढुकुरलाई हान्दा मकै गोड्दै गरेकी सहकारीको टाउकोमा गोली लागेको थियो । सहकारीको आइतबार नै पोष्टमार्टम गरी सुर्खेतको गिरीघाटमा अन्त्येष्टि गरिएको छ । मृतक सहकारी कक्षा–१० मा अध्ययनरत छात्रा हुन् ।

 

घटना के कसरी भएको हो भन्ने बारेमा बुझ्ने काम भइरहेको कालीकोट प्रहरीले जनाएको छ । गोली लागेको भन्ने खबर आएको र आफूहरू त्यसतर्फ जाँदै गरेको कालीकोट जिल्लाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी शुभराज बमले जानकारी दिए ।

घटनाका विषयमा अनुसन्धान भइरहेको उनले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us