कोशी नाम खारेज गर्नुपर्ने माग गर्दै गरेको प्रदर्शनमा प्रदर्शनकारी र प्रहरीबीच झडप, अश्रुग्यास प्रहार

काठमाण्डु टुडे २०७९ चैत ५ गते १५:०१ मा प्रकाशित

काठमाण्डु, ५ चैत- प्रदेशको नाम कोशी खारेज गर्नुपर्ने मुख्य माग लिएर विराटनगरमा भएको प्रदर्शनका क्रममा प्रहरीले अश्रुग्याँस र हवाई फायर गरेको छ ।

कोशी प्रदेशको नाम पुनस् नामकरण गर्नुपर्ने माग गर्दै संयुक्त संघर्ष समितिले विराटनगरको महेन्द्र चोकमा प्रदर्शन गरेको थियो । उनीहरुले प्रदेशको नाम पहिचानका आधारमा राख्नुपर्ने माग गरेका छन। प्रदेश नं। १ पुनः नामकरण संयुक्त सङ्घर्ष समितिको आयोजनामा महेन्द्र चोकबाट मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय छेउ रोड शेषमा प्रदर्शनकारी पुगेका थिए ।

जिल्ला प्रशासन कार्यालयले मुख्यमन्त्री कार्यालय आसपासको क्षेत्रलाई निषेधित क्षेत्र तोकेको थियो । उक्त क्षेत्रमा प्रदर्शनकारी जान खोजेपछि प्रहरीसँग झडप भएको हो ।त्यसक्रममा प्रहरीले केही सेल अश्रु ग्यास पनि प्रहार गरेको छ ।जिल्ला प्रशासन कार्यालय मोरङले भने विराटनगरका केही स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको थियो ।

प्रदेशसभा पूर्वमा देवकोटा चोकदेखि पश्चिम कोशी अस्पतालसम्म, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रोड शेष चोकदेखि दक्षिण जतुवा चोकसम्म, मुख्यमन्त्री निवास वरिपरि ३०० मिटरसम्म र जिल्ला प्रशासन कार्यालय मोरङको डाँफे चोकदेखि पूर्वको क्षेत्रसम्म प्रशासनले निषेधित क्षेत्र तोकेको छ ।

सुरक्षा स्थितिलाई सहज एवम् सामान्य तुल्याई राख्न जिल्ला सुरक्षा समितिको मोरङको निर्णयअनुसार चैत ५ गते बिहान ६ बजेदेखि अर्को आदेश नभएसम्म निषेधित स्थानमा सर्वसाधारण तथा सवारी साधन आवतजावत बाहेक कुनै पनि किसिमको सभा, जुलुस, भेला, र्याली, धर्नाजस्ता कार्य गर्न रोक लगाइएको प्रशासनले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us