
एजेन्सी– भारतीय कांग्रेसका नेता अचेल ‘भारत जोडो यात्रा’ अभियानमा रहेका छन् । यसै क्रममा बुधबार महाराष्ट्रको वासिम भन्ने स्थानमा सो अभियान अन्तर्गत आयोजित कार्यक्रममा गान्धीले राष्ट्रिय गान बजाउन भनेपछि मञ्चमा नेपालको राष्ट्रिय गान ‘सयौं थुंगा फूलको हामी’ बज्यको भिडियो क्लिप अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
सुरुमा त गान्धीसहित सबैजना सहज पनि देखिए । केही क्षणपछि असमञ्जस्यताको स्थिति देखियो । त्यसपछि मञ्चमा आसिन राहुल गान्धीसहित अतिथिहरु अक्क न बक्क हुन्छन् । उनीहरुले राष्ट्रिय गीत बजाउन भन्दै फेरि निर्देशन दिन्छन् ।
त्यसपछि भने भारतको राष्ट्रिय गीत बज्न थाल्छ । राहुल गान्धीको कार्यक्रममा नेपाली राष्ट्रिय गीत कसरी बज्न पुग्यो भन्नेबारे औपचारिक रुपमा केही खुलाइएको छैन । यद्यपि यो विषयले अहिले सामाजिक सञ्जालमा भने निकै चर्चा रहेको छ ।