सिरानद्वारा समाचार हटाइएको स्वीकार, प्रधानमन्त्रीका सल्लाहकारमाथि होला त कारबाही ?

काठमाण्डु टुडे २०७६ चैत २१ गते ११:२६ मा प्रकाशित

काठमाण्डु, २१ चैत– सिरान टेक्नोलोजीले काठमाण्डौं प्रेस डटकम ह्याक गरी अनधिकृत रुपमा समाचार हटाएको स्वीकार गरेको छ ।

चीनबाट स्वास्थ्य सामग्री आयात गर्दा अनियमिततामा संलग्न रहेको भन्दै प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल र प्रधानमन्त्रीकै अवैतनिक प्रिविधि सल्लाहकार असगर अलीबारे काठमाण्डौं प्रेसमा छापिएको समाचार सिरानटेकले हटाएको थियो । सिरान अलीको कम्पनी हो ।
रिसान टेक्नोलोजीले विज्ञप्ति जारी गर्दै समाचार पोर्टल ह्याक गरी समाचार हटाइनु गल्ती भएको स्वीकार गरेको छ । गलत सूचनका कारण समाचार हटाइएको उसको प्रष्टीकरण छ । काठमाण्डु प्रेसका सम्पादक गोविन्द परियार र सिरानटेक व्यवस्थापनबीच समाचारका विषयमा संवाद भएको र त्यति नै बेला गलत सूचनाका कारण समाचार हट्न गएको विज्ञप्तिमा छ ।

‘सम्पादक गोविन्द परियार र सिरान टेक्नोलोजीको व्यवस्थापनबीच समाचारका विषयमा संवाद चलिरहेको बेला गलत सूचनाका कारण सिरान टेक्नोलोजीको प्राविधिक टिमले न्यूज पोर्टलबाट उक्त समाचार हटाएको छानबिनका क्रममा पाइयो’, विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिमा समाचार हटेको जानकारी पाउनेबित्तिकै फेरि प्राविधिक टिमलाई भनेर समाचार जस्ताको त्यस्तै प्रकाशित हुने वातावरण तयार पारेको पनि उल्लेख छ ।
विज्ञप्तिमा सिरान टेक्नोलोजीका तर्फबाट अध्यक्ष विश्वास ढकालले काठमाण्डौं प्रेसका सम्पादक गोविन्द परियारलाई पत्र लेखेर उक्त प्रकरणप्रति दुःख व्यक्त गरेको जनाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us