१९ दलले भने, ‘संवैधानिक समितिको प्रतिवेदन फिर्ता गर’

काठमाण्डु टुडे २०७१ पुष ६ गते ५:४९ मा प्रकाशित

ca houseकाठमाण्डु, ६ पुस– एकीकृत माओवादी नेतृत्वको १९ दलीय मोर्चाले दलीय सहमतिमै संविधान जारी गर्नुको विकल्प नरहेको निष्कर्ष निकाल्दै संवैधानिक राजनीतिक–संवाद तथा सहमति समितिको प्रतिवेदन फेरि समितिमै फिर्ता पठाउन माग गरेको छ ।

सिंहदरबारस्थित एमाओवादी संसदीय दलको कार्यालयमा आइतबार बसेको १९ दल बैठकले त्यस्तो निर्णय गरेको हो ।

गठबन्धनका प्रवक्ता एवम् संघीय समाजवादी जनता पार्टीका अध्यक्ष प्रेमबहादुर सिंहले बैठकको निर्णयबारे आजै संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई जानकारी गराइने बताए ।
बैठकले सहमतिका लागि वार्ता र छलफललाई निरन्तरता दिनुका साथै शान्तिपूर्ण सडक आन्दोलनलाई अघि बढाउने निर्णयसमेत गरेको उनले जानकारी दिए ।

आन्दोलनको खाका तय गर्न एमाओवादी महासचिव कृष्णबहादुर महरा नेतृत्वको कार्यदल विस्तार गरी ११ सदस्यीय बनाइएको छ । कार्यादलले सोमबार बस्ने बैठकमा आन्दोनलको खाका पेस गर्नेछ ।

बैठकमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रमुख तीन दलबीच शनिबार बालुवाटारमा बसेको बैठकमा भएको कुराकानीबारे जानकारी गराएका थिए ।
सिंहका अनुसार प्रचण्डले बालुवाटार बैठकबाट काँग्रेस–एमालेले संविधान जारी नगर्ने नियत देखाएको बताएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us