रोजेको केटा नपाएपछि आत्महत्या

काठमाण्डु टुडे २०७० माघ २३ गते ८:५८ मा प्रकाशित

सिन्धुली, २३ – आफूले प्रेम गरेको युवकसँग विवाह गर्न परिवारले अनुमती नदिएपछि महोत्तरीको सिन्धुलीकी एक युवतीले आत्महत्या गरेकी छन् ।

परिवारले अर्कैसँग लगनगाठोँ कस्ने पक्का गरिदिएपछि उनले मामाघर गएर आत्महत्या गरेकी हुन् । सिन्धुलीको कमलामाई नगरपालिका ११ भिमान घर भई महोत्तरीको माइस्थान ४ चेरुमा रहेको मामाघरमा गएकी २३ वर्षीया रक्षा पौडेलले झुण्डिएर आत्महत्या गरेकी हुन् ।

रक्षाको आउँदो फागुन १४ गते विहे हुने तय भएको थियो । रक्षा बाहुन र उनको प्रेमी जैसी भएका कारण परिवारले विवाह गर्न नदिएपछि उनले आत्महत्या गरेकी हुन् । रक्षा र उनको प्रेमीको जात नमिल्ने भन्दै परिवारले विवाहको अनुमति नदिएपछि आत्महत्या गरेकी पारिवारिक स्रोतले जनाएको छ ।

रक्षाको केहीदिन अघि मात्र हेटौंडाका एक युवकसँग विवाहको लागि टिकाटालो समेत भइसकेको स्थानीय बासिन्दाले बताएका छन् ।

घटनाको अनुसन्धान सुरु गरिएको र युवतीको शव पोष्टमार्टमको लागि अञ्चल अस्पताल जनकपुर लगिएको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायव उपरीक्षक हरीप्रसाद शर्माले जानकारी दिए । रक्षा र उनको प्रेमीबीच सुमधुर सम्बन्ध रहेको बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us