सरकारको नेतृत्व गर्न तयार छु : ओली

काठमाण्डु टुडे २०७० माघ २२ गते १३:५९ मा प्रकाशित

KP-Oliकाठमाण्डु, २२ माघ – नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले कांग्रेसपछि हटे स्वभाविक रुपमा आफू सरकारको नेतृत्व गर्न तयार रहेको बताएका छन् ।

ठुलो दलको हिसाबले कांग्रेसले सरकार बनाउने भएपनि कांग्रेस पछि हटे नेतृत्व लिन आफू तयार रहेको बताए । ‘काँग्रेसको सरकारमा हामी समर्थन र सहभागी हुन्छौं, तर प्रस्ताव ल्याउन ढिला गरिरहेको छ,’ ओलीले भने, ‘कसरी सरकारमा सहभागी हुने उपयुक्त मापदण्डको प्रस्ताव ल्याउनुपर्छ, लोकतान्त्रिक शक्ति एकता भएर सरकार बनेमात्र लोकतान्त्रिक संविधान बन्ने भएकाले काँग्रेसलाई बाहिर राखेर हामी सरकार गठनको प्रयास गर्दैनौँ तर उसले आग्रह गरेमा हामी नेतृत्व लिन पछि पनि पर्दैनौँ ।’

अर्को प्रसंगमा ओलीले राजनीतिक, संवैधानिक, नैतिक हिसाबले पनि नयाँ संविधानसभा गठन भएकाले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन पहिले हुनुपर्ने जिकिर गरे ।

उनले निर्धारित समयमै समावेशी आचरणको लोकतान्त्रिक संविधान निर्माण गरिने बताए । प्रेस चौतारी नेपालको १६ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा ओलीले समयमै कांग्रेसले ठोस प्रस्ताव ल्याउनु पर्ने बताए ।

ओलीले आफ्नो पार्टी प्रेस स्वतन्त्रताको पक्षमा रहेको तर स्वतन्त्रता झुट र बेइमानिमा आधारित नभई सत्य कुरामा वकालत गरिनुपर्ने भन्दै पत्रकार मर्यादित पेशा भएकाले यसलाई व्यवस्थित, मर्यादित र जिम्मेवार बनाइनुपर्नेमा जोड दिए ।

कार्यक्रममा एमाले प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले अब दलहरूको मुख्य दायित्व जनआकांक्षाअनुरुपको संविधान निर्माण रहेको भन्दै यसका लागि संविधान निर्माणको अवधिसम्म ठूला पार्टीहरूबीच एकता र सहकार्य जरुरी भएको खाँचो औँल्याए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us