सामुदायिक विद्यालयलाई कम्युटर दिइने

काठमाण्डु टुडे २०७० माघ १७ गते ७:०५ मा प्रकाशित

Computerभक्तपुर, माघ – सरकारले देशभरका सात हजार ३ सय ५९ माध्यमिक तहका सामुदायिक विद्यालयलाई कम्प्युटर प्रदान गर्ने भएको छ ।

कम्प्युटर शिक्षाको पहुँच बढाउन तथा विद्यार्थीको सिकाइमा सहजता ल्याउन माध्यमिक तहको सामुदायिक विद्यालयमा पाँचवटाका दरले कम्प्युटर दिने भएको शिक्षा विभागले जानकारी दिएको छ ।

यसका लागि सरकारले विनियोजन गरेको रु एक अर्ब सम्बन्धित जिल्ला शिक्षा कार्यालयमार्फत प्रतिविद्यालयले रु एक लाख ४० हजारका दरले पाउने गरी विद्यालयलाई पठाइसकेको विभागका महानिर्देशक लव अवस्थीले बताए ।

सरकारले विद्यालयलाई पठाएको रकममा विद्यालयले थप रु ६० हजार थपेर पाँचवटा कम्प्युटर खरिद गर्नुपर्नेछ । सरकारले सबै सामुदायिक माध्यमिक विद्यालयमा कम्प्युटरको पहुँच पु¥याउने उद्देश्यले कुन जिल्लामा कति सामुदायिक विद्यालय छन् त्यसको आधारमा बजेट पठाएको विभागले जनाएको छ ।

विद्यालयले थप गर्नुपर्ने रु ६० हजार बैंक खातामा जम्मा गरेको रसिद शिक्षा कार्यालयमा पेस गरेपछि मात्र विद्युत खपत कम गर्ने कम्प्युटर खरिद गर्न शिक्षा कार्यालयले विद्यालयलाई उक्त रकम दिनेछ ।

विद्यालयले थप गरेको ६० हजार सहित दुई लाख रुपैयाँमा पाँच थान कम्प्युटर, एक थान प्रिन्टर, इन्टरनेट र विद्युत लाइन नभएको स्थानमा वैकल्पिक व्यवस्थासमेत गर्नुपर्ने सर्त राखिएको छ ।

विद्युत लाइन नपुगेको विद्यालयमा वैकल्पिक ऊर्जामार्फत सहायता उपलब्ध गराएर व्यवस्था गर्ने विभागले जनाएको छ ।

विभागले ०६७ देखि गत वर्षसम्म एक हजार ४५२ विद्यालयमा कम्प्युटरको व्यवस्था गरिसकेको छ भने यसरी वितरण गरेको कम्प्युटर विद्यालयले सही रुपमा प्रयोग गरे नगरेको अनुगमनसमेत गर्ने भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us