
काठमाण्डू, १० जेठ-गृहमन्त्री रमेश लेखकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर्मचारीमाथि छानबिन गर्दैमा मन्त्री पदबाट राजीनामा दिनुनपर्ने बताएका छन् ।
शनिबार साँझ एक भिडियो सन्देश जारी गर्दै मन्त्री लेखकले आफूविरुद्ध नियोजित र षड्यन्त्रमुलक ढंगबाट झुठा प्रचारबाजी भइरहेको बताएका हुन् ।
संवैधानिक निकायले कर्मचारीमाथि छानबिन थाल्दैमा मन्त्रीले राजीनामा गर्न नसक्ने जिकिर उनको छ । मन्त्री लेखकले विगतमा पनि कहिल्यै त्यस्तो नभएको तर्क गरे । ‘कुनै पनि कर्मचारीमाथि अनुसन्धान सुरू हुँदा सबै मन्त्रीहरूले राजीनामा दिँदै जाने हो ? के त्यही पद्दति बसाउने हो ? त्यो सम्भव छ ? विगतमा त्यस्तो भएको छ ?’ उनले प्रश्न गरेका छन् ।
मन्त्री लेखकलाई नैतिकताका आधारमा राजीनामा दिन चौतर्फी दबाब छ । काँग्रेसभित्रैबाट उनको राजीनामा माग्न थालिएको छ । काँग्रेस वरिष्ठ नेता डा. खेशर कोइरालाले शनिबार मन्त्री लेखकले नैतकितामा आधारमा राजीनामा दिनुपर्ने अभिव्यक्ति दिएका छन् ।
दैनिक ५० लाख रुपैयाँ उठाएर पर्यटक भिसामा विदेश पठाउने गरिएको भन्दै अख्द्यितयार दुरुपयोग अनुसन्धान आयोगले छानबिन अघि बढाएपछि त्यसमा मन्त्री लेखकको पनि संलग्नता रहेका समाचारहरु आएका छन् ।
मन्त्री लेखकले अख्तियारले गरिरहेको छानबिनको विषयमा आफूलाई नियोजित रुपमा जोडिएको दाबी गरे । त्यसमा आफ्नो नाम मुछेर झुठा प्रचार गरिएको उनले बताए ।
लेखकले कसैले पर्यटक भिसामा मात्र नभई राजनीतिक जीवनमा एउटा मात्र आर्थिक अनियमितता प्रमाणित गर्न सके पदबाट मात्र नभई राजनीतिबाटै राजीनामा दिने जिकिर पनि उनले गरे ।
‘भिजिट भिसाको विषयमा मात्र होइन, मेरो सार्वजनिक जीवनमा, मेरो राजनीतिक जीवनमा यदि एउटा मात्रै पनि मैले आर्थिक अनियमितता गरेको प्रमाणित कसैले ग¥यो भने, प्रमाणित भयो भने म पदबाट होइन, राजनीतिबाट राजीनामा दिन्छु’, उनले भनेका छन् ।
विमानस्थलबाट हुने गरेको मानव तस्करी प्रकरणका बारेमा आफूले आगामी १३ जेठमा बस्ने प्रतिनिधिसभा बैठकमा बोल्न समय मागेको उनले बताए ।