काठमाडौं- संवैधानिक परिषद्ले प्रमुख निर्वाचन आयुक्तमा सर्वोच्च अदालतका रजिस्ट्रार मानबहादुर कार्कीलाई नियुक्तिका लागि सिफारिस गरेको छ ।
शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको परिषद् बैठकले कार्कीलाई प्रमुख निर्वाचन आयुक्तमा सिफारिस गर्ने निर्णय गरेको हो ।
त्यस्तै, हाल रिक्त रहेको निर्वाचन आयुक्त पदमा पूर्व डीआईजी राजीव सुब्बा तथा असार २३ गतेदेखि रिक्त हुने अर्को निर्वाचन आयुक्त पदमा गुरूप्रसाद वाग्लेलाई नियुक्तिका लागि सिफारिस गरिएको स्रोतले जनाएको छ ।
सुब्बा नेपाल प्रहरीमा सूचना प्रविधि (आईटी) विशेषज्ञका रूपमा कार्यरत थिए । प्रहरी सेवाबाट अवकाशपछि उनी मदन भण्डारी विश्वविद्यालयसँग पनि आबद्ध भएका थिए ।
वाग्ले यसअघि निर्वाचन आयोगमा उपन्यायाधिवक्ताका रूपमा कार्यरत थिए ।