संवैधानिक परिषद्मा आङ्देम्बेले बालेन्द्र शाहलाई भने : ‘तपाईंलाई प्रधानमन्त्रीका रूपमा चिन्दिनँ’

काठमाण्डु टुडे २०८३ असार १९ गते २१:०२ मा प्रकाशित

काठमाडौं-  प्रमुख प्रतिपक्षी  नेपाली कांग्रेसका नेता तथा संवैधानिक परिषद्का सदस्य भीष्मराज आङ्देम्बेले निर्वाचन आयोगका रिक्त प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्त सिफारिस गर्ने प्रक्रियामा प्रधानमन्त्री तथा संवैधानिक परिषद्का अध्यक्ष बालेन्द्र शाहले अपनाएको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि जनाएका छन् ।

शुक्रबार बसेको परिषद् बैठकमा आङ्देम्बेले निर्वाचन आयोगजस्तो संवैधानिक निकाय लामो समय रिक्त राख्न नहुनेमा आफू सहमत रहेको तर नियुक्ति प्रक्रिया अघि बढाउनुअघि परिषद्का सदस्यहरूसँग पर्याप्त छलफल हुनुपर्ने धारणा राखेका थिए ।

‘निर्वाचन आयोगजस्तो संवैधानिक निकाय रिक्त राख्नु हुँदैन, त्यसमा मेरो पनि सहमति छ,’ उनको सचिवालयका अनुसार आङ्देम्बेले भने, ‘तर तपाईंले अपनाएको कार्यशैलीप्रति मेरो सैद्धान्तिक असहमति छ । प्रमुख निर्वाचन आयुक्तसँगै निर्वाचन आयुक्त सिफारिस गर्ने विषयमा यसअघि नै छलफल हुनुपर्थ्यो । त्यसो नगरेकोमा मेरो घोर आपत्ति छ ।’

आङ्देम्बेको असन्तुष्टिपछि बालेन्द्र शाहले परिषद्का सदस्यहरूसँग व्यक्तिगत रूपमा संवाद गर्ने प्रयास गरेको बताएका थिए । ‘मैले छुट्टाछुट्टै संवाद गर्न खोजेको थिएँ । प्रधानन्यायाधीशसँग पनि कुरा गर्न खोजेको थिएँ । तर बाहिर पत्रकारहरूले उल्टो अर्थ लगाउने रहेछन्,’ उनले भने ।

आङ्देम्बेले प्रमुख प्रतिपक्षी दलका नेता, सभामुख र राष्ट्रियसभा अध्यक्षलाई समेत बोलाएर छलफल गर्न सकिने सुझाव दिएका थिए ।

उनले प्रधानमन्त्री तथा संवैधानिक परिषद्का अध्यक्षका रूपमा बालेन्द्र शाहले परिषद्का सदस्यहरूसँग नियमित संवाद र समन्वय कायम गर्नुपर्नेमा जोड दिँदै भने, ‘तपाईंले संवैधानिक परिषद्का सदस्यहरूसँग चिया खाएर शिष्टाचार कायम राख्दा पनि हुन्थ्यो । प्रधानमन्त्री र संवैधानिक परिषद्का अध्यक्षका हिसाबले हाम्रो चिनजान नै भएको छैन । व्यक्तिगत रूपमा भने चिन्छु । अस्ति पनि यही कुरा भनेको थिएँ, अहिले पनि अवस्था उस्तै छ ’ उनले भने ।
आङ्देम्बेले राष्ट्रपति र प्रधानमन्त्रीबीच पनि संवादहीनता रहेको उल्लेख गर्दै त्यसको असर संवैधानिक परिषद्मा समेत देखिन थालेको हो कि भन्ने प्रश्न उठाएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us