माओवादीमा पार्टी एकता बारे बहस

काठमाण्डु टुडे २०७० माघ १७ गते ४:०६ मा प्रकाशित

Prachanda and Kiranकाठमाण्डु, माघ १७ – दुई माओवादीबीच एकीकरणप्रति केन्द्रित हुँदै हेटौंडा महाधिवेशनले बोकेका ‘लाइन’बारे बहस सुरु भएको छ । दोस्रो संविधानसभा चुनावमा अनपेक्षित हार बेहोरेपछि एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले पार्टी मिल्नुपर्ने प्रस्ताव नेकपा-माओवादी अध्यक्ष मोहन वैद्यसँग राखेका थिए ।

दुवै पार्टीका केही नेताले अनौपचारिक रूपमा अघि सारेको पार्टी एकताको बहस राजधानीमा बिहीबार सुरु माओवादी पोलिटब्युरो बैठककै एजेन्डा बनेको छ । ‘नेताहरूबीच अनौपचारिक रूपमा छलफलमा थियो, अब हाम्रो पोलिटब्युरोमै छलफल हुँदै छ,’ बैठकबारे जानकारी दिँदै माओवादी प्रवक्ता पम्फा भुसालले भनिन् । बैठकमा अन्य साना कम्युनिस्ट पार्टीसँग एकताबारे पनि छलफल हुने उनले जनाइन् ।

एमाओवादीले बोकेको शान्ति प्रक्रियाको कार्यदिशामा विमति राख्दै वैद्यको नेतृत्वमा डेढ वर्षअघि पार्टी फुटेको थियो । त्यसपछि गतवर्ष माघमा एमाओवादीको हेटौंडा महाधिवेशनले शान्तिपूर्ण प्रतिस्पर्धाको बहुलवादी राजनीति र परम्परागत जनवादी गणतन्त्रको साटो पुँजीवादी-जनवादी क्रान्ति’को बाटो रोजेको थियो । एमाओवादीले संविधानसभामार्फत नयाँ संविधान निर्माण गरी आफ्नो बाटोलाई टुंगोमा पुर्‍याउने निर्णय लिएको थियो । वैद्य नेतृत्वको नेकपा माओवादीले भने ‘जनयुद्धको जगमा जनविद्रोह’लाई नै कार्यदिशा बनाएको थियो ।

यतिखेर दुवै पार्टीका नेताहरूले विपरीत धारका दुई लाइन कायम रहुन्जेल एकीकरण असम्भव हुने भन्दै ‘लाइन’बारे गृहकार्य थालेका हुन् ।

एक सार्वजनिक कार्यक्रममै बुधबार दाहालले दुई पार्टी मिलेपछि मात्र क्रान्ति सफल हुने भन्दै वैद्यलाई एकीकरणका लागि आग्रह गरेका थिए । जवाफमा वैद्यले एमाओवादीका सिद्धान्त र कार्यदिशा त्रुटिपूर्ण भएको भन्दै सच्याएर अघि बढे आफू मिल्न तयार भएको जवाफ दिएका थिए । बुधबारै दाहालले केन्द्रीय समिति बैठकमा फुटका कारण पार्टी हारेको भन्दै एकीकरण हुनुपर्ने बताका थिए ।

‘एमाओवादीले हेटौंडा महाधिवेशनमा लिएको लाइन सच्याउन तयार भए एकीकरणको बाटो खुल्छ,’ माओवादी पोलिटब्युरो सदस्य खड्गबहादुर विश्वकर्माले भने । पहिले साना कम्युनिस्ट पार्टीसँगको एकीकरण प्रक्रिया टुंग्याइने उनले बताए ।

चुनावमा तेस्रो स्थानमा झरेपछि दाहालले हारको एउटा मुख्य कारण पार्टी विभाजन भन्दै मिलेर अघि बढ्न वैद्यलाई आग्रह गरेका थिए । दुवै नेतालाई मध्यस्थता गर्दै आएका एमाओवादीका प्रभावशाली नेता कृष्णबहादुर महराको संयोजनमा पटक-पटक पार्टी एकीकरणबारे छलफल भएको थियो । त्यस क्रममा वैद्य पक्षका नेताहरूले हेटौंडा महाधिवेशनका लाइन सच्याउन आग्रह गरेको वार्तामा सहभागी एमाओवादीका एक पोलिटब्युरो सदस्यले जानकारी दिए । दुवै पार्टीबीच अध्यक्ष र पोलिटब्युरो तहमा अनौपचारिक वार्ता भएको थियो ।

एमाओवादीको हेटौंडा महाधिवेशनले राष्ट्रिय स्वाधीनता र छिमेक नीतिका सन्दर्भमा पहिले भन्दा नरम नीति अख्तियार गरेको थियो ।  राष्ट्रियता सुदृढीकरणको मामिलामा तत्काल सम्बोधन नगरी पछि निर्णय गर्ने गरी सारिएको थियो । त्यसमा पार्टीभित्र ठूलो आलोचना भएको थियो ।

– कान्तिपुर दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us