दुई सातामा एमाओवादीको डेढ सय बैठक

काठमाण्डु टुडे २०७० माघ १७ गते १:३६ मा प्रकाशित

Perisdadaकाठमाण्डु, माघ – कुनै राजनीतिक पार्टीले दुई सातामा कति बैठक गर्न सक्ला ? एमाओवादीले त्यति अवधिमा करिब डेढ सय बैठक गरेको छ । यी बैठकबाट उसले संविधान निर्माण, राष्ट्रिय सम्मेलन र पार्टी निर्माणलगायत करिब एक दर्जन निर्णय गर्दै छ ।

बिहीबार पनि उसको बैठक जारी रह्यो । अध्यक्ष पुष्पकमल दाहाल माघ २ यता हरेक दिन कम्तीमा पार्टीका १० औपचारिक/अनौपचारिक बैठकमा सहभागी भएका छन् । उनी केन्द्रीय समिति, राज्य समितिलगायत अन्य साना बैठकमा दिनभर व्यस्त रहँदै आएका छन् ।

संविधानसभाको दोस्रो निर्वाचनमा पार्टीले ठूलो हार खाएपछि त्यसको समीक्षा गर्न सुरु केन्द्रीय समिति लम्बिएपछि बैठकको संख्या पनि बढ्दै गएको हो । नेताद्वय बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ पक्षका अलगअलग बैठक जोड्ने हो भने यो संख्या अझै बढ्छ । हुन त तीन वर्ष अघि उसले लगातार एक महिना बैठक गरेको रेकर्ड छ ।

‘अध्यक्ष हरेक दिन एक दर्जन पार्टी बैठकमा सहभागी हुनुहुन्छ,’ दाहालका स्वकीय सचिव चूडामणि खड्काले भने ।

दुई सातामा करिब डेढ सय बैठक भए पनि निर्णयमा पुग्न अझै एक/दुई दिन लाग्ने देखिएको छ । सबै बैठक पार्टी पुनर्गठन, जिम्मेवारी बाँडफाँड, पराजयपछि पार्टीले लिने बाटोमा केन्द्रित छन् । केन्द्रीय समिति बैठकमा ९८ जनाले अध्यक्ष दाहालको राजनीतिक दस्ताबेजमाथि टिप्पणी गरिसकेका छन् । पूर्व पोलिटब्युरो बैठकमा करिब तीन दर्जन तिनै नेताहरुले धारणा राखे । राज्य संयोजकको बैठकमा दुई दर्जन नेताले आफ्नो कुरा राखेका छन् ।

नेताद्वय भट्टराई र श्रेष्ठले दाहालको कार्यशैली र नेतृत्व क्षमतामाथि प्रश्न उठाएपछि सुरु भएको बैठकमा पार्टी पराजयको कारण खोतल्ने प्रयास भयो । सुरुमा धाँधलीका कारण पराजय भएको भनिए पनि राजनीतिक दस्ताबेजमा भने आन्तरिक कारण प्रमुख भएको निष्कर्ष निकालिएको थियो । भट्टराई र श्रेष्ठले पार्टी पुनर्निर्माणको प्रश्नमा दाहालभन्दा फरक मत राखेपछि बहस सुरु भएको थियो ।

प्रवक्ता अग्नि सापकोटाले सैद्धान्तिक बहसमा धेरै समय खर्च भएको जानकारी दिए । ‘बैठकको अधिकांश समय सैद्धान्तिक बहसमा केन्दि्रत भएको छ । निर्वाचनपछि पार्टीलाई कसरी अघि लैजाने भन्ने चुनौती भएकाले यसका केन्दि्रत हुनुपरेको हो,’ उनले भने, ‘बाँकी समय कार्यविभाजनमा खर्च भएको छ ।’

आगामी कार्यभार : संविधान निर्माण

भट्टराईले स्कुल, प्रचारप्रसार, संविधान निर्माण र श्रेष्ठले अन्तर्राष्ट्रिय, जनपरिचालन र संविधान निर्माणको जिम्मा लिने र आगामी दिनमा पार्टी संविधान निर्माणमा केन्द्रित हुने निर्णय गर्दै केन्द्रीय समिति बैठक शुक्रबार सकिँदै छ । दुई साता चलेको बैठकले संविधान निर्माण पार्टीको कार्यदिशा भएको उल्लेख गर्दै त्यसमै केन्द्रित हुने निर्णय गर्न लागेको हो ।

बिहीबार अध्यक्ष पुष्पकमल दाहाल निवास लाजिम्पाटमा बसेको हेडक्वाटर (केन्द्रीय कार्यालय) बैठकले मुख्य कार्यभार संविधान निर्माणलाई बनाउने निष्कर्ष निकालेको हो । बैठकले दाहाललाई संसदीय दलको नेता बनाउने टुंगो लगाएको छ । भट्टराईलाई संसदीय दलको उपनेता हुन आग्रह गरिए पनि नमानेको स्रोतको भनाइ छ । भट्टराईले संविधान नबनेसम्म कुनै पनि पदमा नबस्ने घोषणा गरेकाले उपनेता हुन नमानेका हुन् ।

‘दल नेता अध्यक्षलाई बनाउने टुंगो भएको छ,’ एक नेताले भने । दलको मुख्य सचेतक र सचेतकको टुंगो लगाउन बाँकी छ । प्रमुख सचेतकमा नेताहरू कृष्णबहादुर महरा, टोपबहादुर रायमाझी, गिरिराजमणि पोख्रेल र जनार्दन शर्माको नाममा छलफल भएको छ । सचेतक भने नेतृ ओनसरी घर्ती हुने सम्भावना छ ।

पार्टीको कार्यभिजानमा भट्टराईले स्कुल विभाग, प्रचारप्रसार, संविधान निर्माण, नेता श्रेष्ठले अन्तराष्ट्रिय विभाग, जनपरिचालन र संविधान निर्माणको जिम्मा लिने पक्का भएको छ । तीन नेताबीच शक्ति बाँडफाँडलाई शुक्रबार बिहान छलफल गरी अपराह्न बस्ने केन्द्रीय समितिमा लैजाने तयारी गरेका छन् ।

वैशाखमा सांगठनिक राष्ट्रिय सम्मेलन

एमाओवादीले वैशाखको दोस्रो साता नेतृत्व चयन गर्न सांगठनिक राष्ट्रिय सम्मेलन गर्ने भएको छ । त्यसबेला सम्म यही केन्द्रीय समितिलाई निरन्तरता दिइनेछ । सम्मेलनपछि ९९ सदस्यीय केन्द्रीय समिति बनाउनेछ ।

शुक्रबार राज्य र जिल्ला समिति भंग गर्ने निर्णय हुनेछ ।

‘पार्टी पुनर्निर्माणका लागि निर्णय गर्दै बैठक सकिनेछ’ प्रवक्ता सापकोटाले भने, ‘विशेष गरी संगठन सानो बनाउने प्रयत्न हुनेछ ।’ केन्द्रीय समितिले उत्पादन र निर्माणसँग सम्बन्धित कार्यक्रमलाई प्रमुखताका साथ उठाउने उनले बताए । त्यस्तै, नेता तथा कार्यकर्ताको कार्यशैली सुधारका लागि आचारसंहिता बनाइनेछ ।

– कान्तिपुर दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us